काठमाण्डौ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाको ढलान खसेर पुरिएका दुई जना कामदारको शव भेटिएको छ ।
ज्यान गुमाउनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का सुमन थारु रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो ।रामजिनको गएराति र सुमनको आज बिहान शव भेटिएको हो । हिजो ढलान खस्दा १० जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
अरू सात जनाको धुलिखेलमा उपचार भइरहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । ४० मेगावाटको आयोजना भोटेकोशी गाउँपालिका–३ मा निर्माणाधीन छ ।