दोलखा । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दोलखामा ५८ लाख भन्दा बढि राजस्व सङ्कलन भएको छ भने सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा (गत साउनदेखि – जेठ मसान्तसम्म) ७ हजार २ सय सवारीसाधनबाट ५८ लाख ३५ हजार राजस्व सङ्कलन भएको हो ।
गत साउनदेखी ११ महिनाको अवधिमा जिल्लामा २७ वटा सवारीसाधन दुर्घटनामा परि ७ जना पुरुष र ४ जना महिला गरि ११ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरिक्षक (असई) ठाकुर प्रसाद भट्टराईले बताए। उनका अनुसार जिल्लामा साना तथा ठुला गरी २७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए। जसमध्ये ११ जनाले ज्यान गुमाए भने ३८ जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए। यता मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको, लाइसेन्स तथा ब्लू बुक नभएका, क्षमता भन्दा बढी सामग्री तथा यात्रु बोक्ने लगायतका सवारी साधनलाई कारवाही गरेको प्रमुख भट्टराईले बताए । गत वर्षहरुमा भन्दा अब आउने दिनहरुमा ट्राफिक नियम पालना गर्नेको संख्या बढ्दै गएकाले दुर्घटना र राजस्व सङ्कलनमा कमि आउने ट्राफिक प्रहरी कार्यालय दोलखाको जनाएको छ।
त्यस्तै यो असार महिनाको आज अर्थात् २३ गते सम्मको ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क हेर्दा ५ सय ५० वटा सवारीसाधन कारबाहीमा परेका छन् भने यसबाट ४ लाख ३५ हजार राजस्व सङ्कलन भएको पाइएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्युनिकरण गर्नका लागी सचेतना कार्यक्रम पनि संचालन गरिरहेको छ।