राजकुमार भुजेल,दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकामा एक जना वृद्धाको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोहि पालिका – ४ का २२ वर्षिय विक्रम कार्की रहेका छन्।
गत बिहिबार गाउँपालिका – ६ स्थित पाटागाउँकी ८० वर्षिय पदम कुमारी सुनुवार मृत अबस्थामा फेला परेकी थिइन् । उनको हत्याको आरोपमा कार्कीलाई दोलखा प्रहरीले पक्राउ गरि आज जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन गरि कार्कीलाई सार्वजनिक गरेको हो । कार्कीले दुबईजानाको लागि परीक्षा दिएर काठमाडौंबाट घर आउने क्रममा ति वृद्धाको घरमा बास मागेर बसेको र बास बस्ने क्रममा ति वृद्धाको पैसा लुट्न कोठाको ताल्चा फुटाएर टाउकोमा खुकुरीले हानेर हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ। बिहिबार बिहान उक्त घटना शंकास्पद देखिएपछि दोलखा प्रहरीले घटनाबारे अनुसन्धान गर्न हेटौडाबाट तालिमप्राप्त कुकुर सहितको टोली झिकाएको थियो।
अहिले कार्कीलाई सम्मानित दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई घटना सम्बन्धमा थप अनुसन्धान गरेको दोलखा प्रहरीले जनाएको छ।