आजदेखि आधा सिलिन्डर ग्यास, मूल्य ९५५ रुपैयाँ
बढ्दो माग र आपूर्ति संकटबीच निगमले आधा सिलिन्डर वितरण नीति लागू गर्यो।
हेर्दाहेर्दै डेस्क
२९ फागुन २०८२, शुक्रवार
54
SharesNews Summary
- एलपी ग्यासको अस्वाभाविक माग बढेपछि नेपाल आयल निगमले आजदेखि प्रति सिलिन्डर ७.१ केजी (९५५ रुपैयाँमा) मात्र बिक्री गर्ने व्यवस्था लागू गरेको छ।
- मध्यपूर्वको युद्धले आपूर्ति अवरोधको संकेत र उपभोक्ताले अनावश्यक सञ्चय गर्दा ग्यासको माग ह्वात्तै बढेको निगमले जनाएको छ।
- निगमले अभाव हुन नदिन र धेरै उपभोक्तासम्म पुर्याउन यो नीति अपनाएको भन्दै अनावश्यक ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
काठमाडौं । बजारमा एलपी ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि नेपाल आयल निगमले (शुक्रबार ) आजदेखि आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने व्यवस्था लागू गरेको छ।
निगमका अनुसार फागुन २९ गतेदेखि लागू हुनेगरी प्रति सिलिन्डर ७.१ केजी मात्र ग्यास भरेर वितरण गरिनेछ। आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
पछिल्लो दुई–तीन महिनादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा एलपी ग्यासको माग उल्लेखनीय रूपमा बढिरहेको निगमको भनाइ छ। यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्तिमा अवरोध आउने संकेत देखिएको छ।
भारतमा समेत ग्यास वितरणमा समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेका छन्। यसले बजारमा माग थप चापिलो बनेको निगमले जनाएको छ।
निगमका अनुसार बजारमा ग्यास अभाव सिर्जना हुन नदिन र धेरैभन्दा धेरै उपभोक्ताको भान्सासम्म इन्धन पुर्याउन ‘कम मात्रा तर व्यापक वितरण’को नीति अपनाइएको हो।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र आपूर्ति व्यवस्थापनमा सहयोग गर्न पनि आग्रह गरेको छ।
54 Shares
हेर्दाहेर्दै डेस्क