अबिरल बस्नेत ` सुरज ´
दोलखा । सदरमुकाम चरिकोट स्थित एपेक्स स्कुलले भिमेश्वर नगरपालिका-७ का अध्यक्ष विनोद तामाङसँगको अन्तरक्रिया कार्यक्रम ‘एपेक्स टक-२०८१’ सम्पन्न गरेको छ । कार्यक्रम बुधवार एपेक्स स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो।
कार्यक्रममा एपेक्स स्कुलका विद्यार्थी र अध्यक्ष तामाङ बीच विभिन्न सामाजिक र विकासका विषयमा खुला संवाद भएको थियो। विद्यार्थीहरूले वडाको बजेट, उद्योग र कारखानामा रोजगारका अवसर, सामाजिक उत्तरदायित्व, वृद्ध नागरिकको सहयोग, र बालविकासको लागि गरेको बजेट वितरणजस्ता महत्वपूर्ण विषयमा सवाल उठाए ।
एपेक्स स्कुलका पिन्सिपल, नसिव कायस्थले यो कार्यक्रम विद्यार्थीको सामाजिक विज्ञान र भाषा सम्बन्धी पाढ्यक्रममा सहायक हुने बताएका छन्। उनले भने, ‘विद्यार्थीहरूको ज्ञान र सोचको विकासका लागि यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरू महत्वपूर्ण छन्।’
यसअघि, मंसिर ७ र १४ गते, एपेक्स स्कुलका विद्यार्थीहरूले वडा नं-७ का विभिन्न उद्योग, कलकारखाना र कृषि फार्महरूको भ्रमण पनि गरेका थिए। एपेक्स स्कुलले यस किसिमका अन्तरक्रिया कार्यक्रम जिल्लाका विभिन्न प्रमुख व्यक्तित्वसँग गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र सामाजिक सम्वादमा योगदान पुर्याएको छ।