दोलखा । ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरि फर्केका विगु गाउँपालिका अध्यक्ष सहित ६ जना सम्मानित भएका छन् । बृहत दोलखा महोत्सवको अवसरमा मंगलबार विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली सहित ६ जना आरोहीलाई सम्मान गरिएको हो ।
विगु गाउँपालिका-१ स्थित लामाबगरको उत्तरपश्चिममा अवस्थित ६ हजार १ सय ९ मिटर उचाईको ‘छोपा बामरे’ हिमालको चुचुरोमा पुग्न सफल ६ जना आरोहीलाई जिल्ला समन्वय समितिका सभापति बर्जुराम घतानीले प्रमाणपत्र सहित सम्मान गरेका हुन्।
आरोहण टोलीमा रहेका मध्ये ६ जना विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, सगरमाथा आरोही लिला बहादुर बस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का, लाक्पागेली शेर्पा लगायतलाई सम्मान गरिएको छ ।
गत पुष ९ गते हिमाल आरोहणका लागि प्रस्थान गरेका पालिका अध्यक्ष ओलीसहितको टोली हिमालको सफल आरोहण गरि ८ दिनपछि आइतबार लामाबगर आइपुगेका थिए।