आज देशका पहाडी र हिमाली क्षेत्रमा फागु पर्व धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । फागु पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुसियालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।