दोलखा । चीनसँग जोडिएको दोलखाको लामाबगर स्थित ‘पुरानो फलाक नाका’ शनिबारदेखि खुलेको छ । चीन र नेपालले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्नका लागि शनिबार आफ्ना परम्परागत सीमा व्यापार नाका खुला गरेसँगै फलाक नाका पनि खुला भएको हो ।
शनिबार चीन र विगु गाउँपालिकाका प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच नाका सुचारु गरिएको हो । करिब १० वर्षदेखि बन्द रहेको नाका खुल्दा स्थानीयबासी खुसी भएका छन् । नाका नखुल्दा दोलखाको बिगु गाउँपालिका–१ लप्चीका बासिन्दाले ठूलो कष्ट व्यहोर्नु परेको थियो। चीनसँग जोडिएको पुरानो फलाक नाका बन्द हुँदा स्थानीयको व्यापार व्यवसाय ठप्प भएको थियो।
गत जेठमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणसँगै नाका साविककै अवस्थामा सञ्चालनमा आउने सहमती भएपछि स्थानीयवासी खुसी भएका थिए । नाका खुलाउन गाउँपालिकाले केन्द्र सरकार र चिनियाँ प्रतिनिधिसँग बारम्बार पहल गरिरहेको थियो । नाका खुलेपछि स्थानीयवासीले शनिबारबाट नै सीमा क्षेत्रको बजारमा आवतजावत र किनमेल गर्न पाउने भएका छन्।
नाका खुलेसँगै विगु गाउँपालिकाका अध्यक्ष संजीव वलीले पुन चीनसँग परम्परागत सीमा व्यापार हुने र सिमा क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा समेत टेवा पुर्याउने बताउनुभयो । उहाँले लामो समयपछि नाका खुल्दा अब वारीपारीका वस्तीमा सामाजिक र साँस्कृतिक सद्भाव समेत कायम हुने अपेक्षा ब्यक्त गर्नुभयो ।
नाका नखुल्दा चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दाको मुख्य आर्थिक स्रोत चौरी, याक, चौरीको घ्यू, छुर्पीजस्ता कुरा तिब्बती बजार ङ्यालम्ब, फलाक र कुती पुर्याउन सकेका थिएनन् ।