२६ भाद्र ,दोलखा – जिल्लाको गौरीशंकर गाउँपालिकाले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । प्राविधिक जनशक्ति उत्पादनको लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत सोमबार गाउँपालिकको कार्यालय सुरिमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष विश्वास कार्कीले ५२ जना विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरेका हुन् ।
जस अन्तर्गत एमबीबी स्नातक तर्फ २ जना लाई प्रति विद्यार्थी २ लाख, एमबीबी आयुर्वेद स्नातक तर्फ १ जनालाई २ लाख, सिभिल इन्जिनियर स्नातकतर्फ १ जनालाई १ लाख, डेन्टक साइन्स स्नातक तर्फ १ जनालाई ५० हजार, वन विज्ञान स्नातकतर्फ १ जनालाई ५० हजार, बीएसजी स्नातकतर्फ १ जनालाई ५० हजार, बीएसजी नर्सिङ स्नातकतर्फ १ जनालाई ५० हजार, सिभिल इन्जिनियर डिप्लोमा ५ जनालाई प्रति विद्यार्थी २५ हजार, बालीविज्ञान डिप्लोमातर्फ ८ जनालाई प्रतिविद्यार्थी २५ हजार, पशु विज्ञान डिप्लोमातर्फ १ जनालाई २५ हजार, पिसिएल नर्सिङ डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २५ हजार, एचए डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २५ हजार, ल्याब डिप्लोमातर्फ १ जनालाई २५ हजार, कम्युटर इन्जिनियर डिप्लोमातर्फ २५ जनालाई प्रति विद्यार्थी २० हजार गरि कूल ५२ जना विद्यार्थीलाई १९ लाख ५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष कार्कीले गरिब तथा जेहेन्दार विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यका साथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘हाम्रो भौगोलिक अवस्थाका कारण प्राविधिक क्षेत्रका कर्मचारी आउनै गाह्रो मान्नुहुन्छ, आएपनि छोटो समयमै गईहाल्नुहुन्छ, कमसेकम आफ्नै पालिकाका विद्यार्थीलाई त आफ्नो ठाउँको माया हुन्छ नि त,’ उनले भने-‘त्यसैले पढाइ सकेपछि केही समय पालिकाका निम्ति सोचिदिँदा पनि पालिकाले अझै धेरै गर्न सक्थ्यो भन्ने कुरा हो ।’ छात्रवृत्तिका लागि गत वैशाखमा गाउँपालिकाले सूचना जारी गर्दै दर्खास्त आह्वान गरेको थियो । जसमा ५२ जना विद्यार्थीले आवेदन दिएका थिए । विगतमा आवेदन परेका मध्ये आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति दिने गरिएपनि यसवर्ष भने आवेदन दिएका सवै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु, शिक्षक महासंघ, शिक्षकको पेसागत संगठनका प्रतिनिधि लगायत, स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।