दोलखा लामो समयदेखि विद्युतको पहुँच पुग्न नसकेको गौरिशंकर गाउँपालिकाको नाँ गाउँमा अब विद्युत सेवा पुग्ने भएको छ । ३० किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजनाको शिलान्यास भएसँगै लामो समयदेखि अन्धकारमा रहेको नाँ गाउँमा विद्युत सेवा विस्तार हुने भएको हो ।
मंगलवार एक कार्यक्रमका बीच गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले वडा नम्बर ९ स्थित नाँ मा बन्ने कन्ट्रोल प्यानल हाउस को जग खनेर परियोजनाको शिलान्यास गरेका हुन् । हालसम्म विद्युत प्रसारण लाइन नपुगेको नाँमा विद्युत परियोजना शिलान्यास भएसँगै स्थानीयबासीमा खुसी छाएको छ ।
आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ३ करोड १४ लाख , जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ९८ हजार गरी कूल ३ करोड ४८ लाख रुपैयाँ लगानी रहनेछ ।
गाउँपालिका अध्यक्ष विश्वास कार्कीले आफुलालाई नाँ मा पहिले नै आउन मन लागेको, तर नाँबासीको लागि केही नगरी नआउने आफ्नो प्रतिबद्धता रहेकाले यो परियोजनाको ठेक्का स्विकृत भएपछि मात्रै नाँ बासीसँग दुःखसुख साट्न आएको बताए । ‘जिल्लाभर विद्युतको पहुँच भएपनि नाँ गाउँ भने अन्धकार रहेको विषयले मलाई दुखी तुल्याएको थियो’ उनले भने, ‘तर अब यो परियोजनाको शिलान्याससँगै आफ्नो र नाँ बासीको त्यो पुराना दिनलाई बिर्सिएर खुशी हुने दिन आएको छ ।’ अध्यक्ष कार्कीले अबको केही महिना भित्रै नाँ गाउँमा फाइवर नेटको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
गौरीशंकर गाउँपालिका ९ का अध्यक्ष निमागेली शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, विशेष अतिथी गौरीशंकर गाउँपालिकाको निमित्त प्रमुख वसन्त रेग्मी, प्राविधिक शाखा प्रमुख सुवोध चापागाईं, पत्रकार बलराम खड्का, गोविन्द थामी लगायतको उपस्थिति रहेको थियो ।