पर्यटकीय नगरी दोलखाको सदरमुकाम चरिकोट बजारमा लामो समयसम्म बसपार्क बन्न सकेको छैन । बसपार्क नहुनाले बजारको सुन्दरता हराएको छ ।
चारपांग्रे सवारीसाधन गाडी, स्कुटी, मोटरसाइकलको संख्या दिनप्रतिदिन बढ्दो छ । बसपार्क नहुँदा सडकमै सवारी साधान पार्किङ हुदै आएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । बीच बाटोबाट पैदलयात्रु हिँड्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम बढेको छ । सम्बन्धित निकायको बेवास्ताले अझैसम्म बसपार्क बन्न सकेको छैन ।
बसपार्क निर्माणमा कसैको चासो नजानु दुखद कुरा हो । हरेक चुनावमा राजनीतिक दलहरुले बसपार्क निर्माणलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाए पनि पछि प्राथामिकतामा नराख्दा बसपार्क बन्न नसकेको स्थानीयहरुको भनाइ छ । स्थानीय सरकारले पनि बसपार्क निर्माणमा ध्यान नदिएको उनीहरु बताउँछन् । हामीले स्थानीय सरकारलाइ बारम्बार खबरदारी गर्दा पनि कुनै सुनुवाई भएन । उनीहरु भन्छन्, चरिकोट बजार भीमेश्वर नगरपालिकामा पर्छ । यो समस्या हटाउन सोही नगरपालिकाले सार्वजनिक जग्गा खोजेर तत्काल बसपार्क निर्माण सम्बन्धि समस्याको अन्त्य गर्नुपर्छ ।
पर्यटकीय जिल्लाको सदरमुकाममा समेत बसपार्क नहुनु ठूलो दुर्भाग्य हो । देश संघीयतामा गएको लामो समय भइसकेको छ । सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको भनिएको छ । तर, गाउँ–गाउँमा सिंहदरबार नभएर सिंह पुगेकाले स्थानीयहरुले अझैं स्थानीय सरकारको आभास गर्न पाएका छैनन् ।