राजकुमार भुजेल, दोलखा। धार्मिक तथा पर्यटकीय महत्वका रुपमा परिचित कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । बुधबार दिउँसो देखि कालिन्चोक भगवती मन्दिर लगाएतका जिल्लाका उच्च भेगमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै पहिलो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र कुमार लामाले जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष मङसिर महिना मै हिमपात भएको छ। गएको वर्षमा हिमपात हुने समय भन्दा अलि ढिलो गरि हिमपात भएको थियो । कालिन्चोकमा दिउँसोदेखि हिमपात सुरु भएपछि मन्दिरमा दर्शन गर्न गएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावित वनाएको छ । यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात हुन सक्ने अनुमान स्थानीय होटल व्यवसायीहरुले गरेका छन्। यता जिल्लाकै अर्को पर्यटकीय क्षेत्र रोल्वालिङमा भने केहि साता अघि नै हिमपात हुन सुरु भइसकेको छ।
हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल कालिन्चोक, शैलुङ, चेर्दुङ लगायतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ । हिउँमा रमाउन यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ। जिल्लाको उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम चरिकोट लगायतका स्थानहरूमा चिसो समेत बढेको छ।