दोलखा । पतंजली योग समितिको पाँचौ दिक्षान्त समारोह सम्पन्न भएको छ । ५ महिनाको तालिमपछि सोमबार सदरमुकाम चरिकोट स्थित आइओम हलमा आयोजित समारोहमा ३३ जना दिक्षित भएका छन् ।
समारोहको अध्यक्षता ग्रहण गरेका दोलखा योग समितिका अध्यक्ष नवराज बस्नेतले जिल्लामा योगको विकास गर्नका लागि आफुले भरपुर पहल गर्ने बताए । उनले योगका लागि आफुले गर्नसक्ने कामबाट कहिल्यै पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरे ।
त्यसैगरी, समारोहमा दोलखा पतंजली योग समितिका उपाध्यक्ष रामकृष्ण बस्नेतले योगको महत्त्व बुझाएर सिङ्गो जिल्ला नै योगमय बनाउनु पर्नेमा जोड दिए । योग जीवनको महत्वपूर्ण आधार भएको भन्दै उनले योगको सम्पूर्ण विकासका लागि आफु अग्रपंक्तिमा रहने विश्वास दिलाए । योग समिति दोलखाले गत बर्ष योग प्रशिक्षणबाट गत वर्ष ३५ र यस बर्ष ३३ जना सहप्रशिक्षक उत्पादन गरेको छ ।
समारोहमा दोलखाका प्रमुख जिल्ला अधिकारी टुवाराज पोखरेल प्रमुख अतिथीका रुपमा उपस्तिथि थिए भने विशेष अतिथिमा पतन्जली योग समिति नेपालका केन्द्रिय सहप्रभारी अर्चना घिमिरेको उपस्तिथि रहेको थियो ।