दोलखा । बारी बाँझो छ । बारीभरी फलाम, पाइप र काठहरु गाडिएका छन् । तर तिनै फलाम, पाइप र काठहरुको आडमा झुलेका छन्, लटरम्म किवी ।
जो कोहीको पनि मन लोभ्याउँछ वैतेश्वरका डिके तामाङले थालेको किवी खेतीले ।
परदेशमा झन्डै ५ वर्ष बिताएका तामाङ अहिले स्वदेशमै कृषि गरिरहेका छन् । दोलखाको वैतेश्वर गाउँपालिका १ कप्टी स्थित आफ्नै पुर्ख्यौली बारीमा उनले किवी फलाएका छन् ।
उनले २०७४ सालबाट यो खेती सुरू गरेका हुन् । २५ रोपनी जग्गामा गरेको खेतीले कम मेहनत र थोरै समयमै राम्रो फल दिएपछि उनी सन्तुष्ट छन् ।
‘यी फल मात्र होइनन्, वर्षभरिको मेहनत र पसिना पनि हो,’ उनी भन्छन् ।
रोपेको तीन वर्षदेखि नै बिरूवाले राम्रो फल दिइरहेको छ। अहिले छैठौँ वर्ष भयो। केही बिरूवाले त सय केजीसम्म फल दिएको उनी बताउँछन् ।
अहिले उनको बारीमा झण्डै ३ सय बोट किवी छन् । यसलाई उनी व्यवसायको सुरूआत नै ठान्छन् । उनका अनुसार सामान्यतया किवी रोपेको तीन वर्षमा फल दिन्छ। तर राम्रो फलका लागि ५, ६ वर्ष वर्ष कुर्नुपर्छ।
‘छोटो समयमै राम्रो फल दिएपछि बिरूवा थपिरहेको छु,’ उनले भने ।
कुनै बिरूवामा फल लागिसकेको छ भने कुनै हुर्कँदै छन् । हुर्कँदै गरेको बिरूवा ओजिलो हुँदै गर्दा उनको मन हलुका हुन्छ । अहिले उनको भविष्य यीनै किवीका लहरामा अल्झेका छन् ।
त्यसो त तामाङको किवी खेती गर्ने योजना थिएन । गाउँमै जन्मिए पनि उनी देशविदेश घुमेका थिए । रोजगारीका क्रममा दुबई, कतार लगायत मुलुक बसे । परदेशमा कमाएको पैसाले स्वदेश फर्केर व्यवसाय गर्ने सोच थियो । तर के गर्ने भन्ने ठ्याक्कै निधो थिएन ।
के गर्ने भन्ने अन्यौलकैबीच उनले घरकै बारीमा तरकारी खेती थाले । तरकारी खेती गर्दैगर्दा केही साथीहरुले उनलाई किवी खेतीबाट मनग्य आम्दानी हुने कुरा सुनाए । तर उनीसँग खेती गर्ने आइडिया थिएन ।
उनले केही साथीभाई र युट्युबमा पाइने भिडियोहरु हेरेर आँटे कि, अब किवी खेती गर्छु भनेर । त्यसपछि उनमा किवी खेती गर्ने हुटहुटी बढ्यो ।
तर अर्को समस्या, वैतेश्वरमा भएको जमिनमा किवी फल्छ कि फल्दैन, उनलाई थाहा थिएन । अनुसन्धान गर्ने भन्दै उनी भौंतारिन थाले । सामाजिक सञ्जालमार्फत नै कृषि क्षेत्रका विज्ञहरूसँग बुझ्न थाले। विभिन्न ठाउँमा पुगेर पनि हेरे । अनि अनुसन्धानका लागि कृषि जानकारसँग पनि बुझे ।
उनको जमिन किवीका लागि पास भयो । अनि २०७४ सालमा ५० वटा बिरुवा रोपेर व्यवसायिक खेती सुरू गरेका हुन्, उनले ।
सुरूवाती दुई वर्ष त बिरुवाको रेखदेखमै बित्यो। तेस्रो वर्षबाट बल्ल फल्न थाल्यो । त्यसपछि उनी आफ्नो सम्पूर्ण समय तिनै बिरूवासँग बिताउन थाले ।
६ वर्षदेखि यिनै बिरूवासँग रमाइरहेका उनले मुस्कुराउँदै भने,-‘आफ्नो पुर्ख्यौली बारी बाँझो रहेन, रोजगारी खोज्दै भौंतारिनु पनि परेन । यो भन्दा खुसी के हुन्छ र ?’
उनका अनुसार किवी खेतीले लगानीअनुसार राम्रो प्रतिफल दिएको छ । वर्षको ४, ५ लाख रुपैँया यसैबाट आम्दानी हुन्छ । तामाङको घरखर्च यसैबाट चलिरहेको छ भने छोराछोरी पढाउन समेत सहयोग पुगेको छ।
वर्षमा एक सिजन फल्छ किवी । वैशाख र जेठमा फूल लाग्छ । पाँच महिनापछि, कात्तिक अन्तिमबाट फल टिप्न योग्य हुन्छ। टिपेको तीन महिनासम्म कोल्ड स्टोरमा राख्न सकिन्छ ।
तामाङले प्रायः मंसिरसम्म किवी टिपिसक्छन् । पुसबाट चैतसम्म बिरूवा फिटिङ, कटिङदेखि गोडमेल लगायत काम गर्छन् ।
उनको अनुभवअनुसार किवी खेतीका लागि सिँचाइको भरपर्दो सुविधा भएको, पानी नजम्ने पाखो जग्गा उपयुक्त हुन्छ।
उनले यसपालि किवी टिपेर उनले काठमाडौं, सिन्धुली लगायतका जिल्लामा पनि पुर्याइसकेका छन् । ढुवानी गर्न सजिलो होस् भनेर सानो चार पाङ्ग्रे सवारीसाधन पनि आफैँले किनेका छन् ।
अहिले तामाङ गाउँबाट काठमाडौं सहर तथा विदेश पलायन हुने युवायुवतीलाई व्यवसायिक रुपमा यस्तै उत्पादन मुलक कार्यहरू गर्न सल्लाह दिन थालेका छन् ।
केहि वर्ष यता उनीजस्तै दोलखाका अन्य धेरै किसान किवि खेती तर्फ आर्कषित भएका छन् । दोलखा किवी खेतीको पकेट क्षेत्र समेत मानिन्छ । अधिकांश किसानले तरकारी खेती गर्ने जमिनलाई सदुपयोग गर्दै किवी खेतीलाई नै मुख्य पेशा बनाएका छन् । अधिकांश किसानले यसलाई व्यावसायिक रुपमा अघि बढाएकाले बजार भाउ भने केही सस्तिएको छ ।
भौगोलिक बनावटअनुसार किवीको स्वाद फरक हुन्छ। राम्रो हावापानीमा फलेको किवीको स्वाद मिठो र स्वास्थ्यलाई पनि फाइदा गर्ने उनी बताउँछन् । दोलखाको अनुकुल हावापानीमा फलेको किवीको स्वाद ठूलो बजारमा पुर्याउने उनको सोच छ।