हेर्दाहेर्दै डेक्स,दोलखा।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाद्वारा पहिलो पटक सडकमै सवारीको यान्त्रिक अवस्था जाँच गर्ने अभियानको थालनी गरिएको छ ।यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरि परीक्षणको थालनी गरिएको हो ।
अभियानका क्रममा भिमेश्वर नगरपालिका – ७ स्थित मकैबारीमा जिल्ला भित्रीने तथा बाहिरीने सवारीहरुको परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार सवारी दुर्घटनामा धेरै कारणहरुमध्येको एउटा यान्त्रिक अवस्था सही अवस्थामा नरहनु पनि रहेकाले सवारीका धनी, चालक र सहचालकलाई सचेत गराउनको लागि परीक्षण अभियान थालिएको हो । बिहिबार भिमेश्वर नगरपालिकाका मेकानिक शिव खड्का लगाएतको सहकार्य गरेर सडकमा गुड्दै गरेका सवारीलाई रोकेर सवारीको अवस्था बारेमा परीक्षण गरिएको छ ।
अभियानको सुरुवाती चरणमा २ दर्जनबढी सवारीहरुको इन्जिन, टायर, ब्रेक, क्लच, ह्यान्डल, एक्सीलेरेटर, ब्याट्री लगायतका भाग र यन्त्रको परीक्षण गरिएको थियो । ‘हरेक दिन हरेक पटक ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्थाको बारेमा जाँचेर आउजाउ गराउन त सम्भव हुँदैन नै ।तर हामीले सवारीका धनी, चालक, सहचालक र आवश्यकता अनुसार यात्रुह पनि आफू रहेको सवारीको यान्त्रिक अवस्थाका बारेमा चनाखो भएको हुनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ,’ ट्राफिक प्रहरी प्रमुख भट्टराईले भने ‘सवारी र चालकका कागजपत्रको परीक्षण गरेजस्तै बेला बेलामा यन्त्र र उपकरणको अवस्था कस्तो अवस्थामा रहेको छ भन्ने परीक्षण गर्ने छौँ । सवारी जाँच गर्ने बेलामा चालक र सञ्चालकहरूलाई यान्त्रिक परीक्षणको महत्त्वको बारेमा सम्झाएर छाडेका छौँ ।’
ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस गर्ने, छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम, सदरमुकाम लक्षित चालक सहचालक प्रशिक्षण कार्यक्रम, सडक प्रयोगकर्ता र विद्यार्थीहरुलाई प्रशिक्षण दिने, सवारी चालकहरुको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।