अबिरल बस्नेत `सुरज´
दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। प्रभु जिरेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।
बुधबार भएको सहमति अनुसार, जिल्लाका चार प्रमुख पत्रकार संगठनहरू – प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन र समाजवादी प्रेस संगठनबीच भएको सहमतिपछि नयाँ नेतृत्व चयन गरिएको हो।
सहमति अनुसार, प्रेस चौतारीले अध्यक्ष र तीन कार्यसमिति सदस्यको जिम्मेवारी पाएको छ। प्रेस युनियनले महिला उपाध्यक्ष, सचिव, सहसचिव (खुला) र दुई कार्यसमिति सदस्यको जिम्मेवारी पाएको छ। प्रेस सेन्टरले कोषाध्यक्ष, समावेशी सहसचिव र दुई कार्यसमिति सदस्यको जिम्मेवारी लिएको छ भने समाजवादी प्रेस संगठनले खुल्ला उपाध्यक्ष र एक कार्यसमिति सदस्यको जिम्मेवारी पाएको छ।
प्रभु जिरेलको नेतृत्वमा बनेको १५ सदस्यीय नयाँ कार्यसमितिमा खुला उपाध्यक्ष नविनकुमार खतिवडा, महिला उपाध्यक्ष बिनिता भण्डारी, सचिव सुजन काफ्ले, कोषाध्यक्ष सिर्जना गोले, सहसचिव (खुला) सुबास बस्नेत, र समावेशी सहसचिव गोविन्द थामी निर्वाचित भएका छन्।
त्यसैगरी, कार्यसमितिको खुला सदस्यमा लक्ष्मी बस्नेत, तारा बहादुर महत, रविता महत र बाबुराम थापा चयन भएका छन्। महिला सदस्यमा बिना घिमिरे, समावेशी सदस्यमा भवानी खड्का, दलित सदस्यमा प्रमिला नेपाली र जनजाति सदस्यमा लाक्पाली शेर्पा निर्वाचित भएका छन्।