कार्तिक १३, दोलखा । आफ्नो स्थापनाकालदेखि विभिन्न प्रवद्र्धनात्मक गतिविधी सञ्चालन गर्दै आएको युवा सञ्जाल जिरीले जिरी च्याम्पियनसिप २०८० आयोजना गर्ने भएको छ । दोलखाको पर्यटकिय नगरी जिरी स्थित लिङ्कन बजारमा कार्तिक १५ देखि सुरु खेलकुद महोत्सवकै रुपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको हो ।
जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसिपमा सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता, जिरी भ्याली माउण्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस लगायतका विभिन्न खेलहरु सञ्चालन हुनेछन् । भलिबल खेल तर्फ प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपैयाँ रहेको छ भने द्वितिय १ लाख १ हजार, तृतिय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै अल्ट्रा म्याराथन तर्फ प्रथम, द्वितिय र तृतिय पुरस्कार राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार रहेको छ भने स्लो बाईक रेस तर्फ प्रथम पुरस्कार ७ हजार, द्वितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजार नगद रहेको छ ।
खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुन लागेको जिरी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा रहेको सञ्जालका अध्यक्ष जगदिश खड्काले जानकारी दिए । कुल खर्च १६ लाख ५३ हजार हुने प्रारम्भिक अनुमान गरिएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले र समापन प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्वबाट हुने आयोजकले जनाएको छ ।