दोलखा । शैलुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शैलुङ गाउँपालिका-३ र ५ स्थित शैलुङ रंगशालामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्कीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए। प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, शटपुट, हाइजम्प, लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगिता ४ दिन सम्म सञ्चालन हुनेछ ।
खेल उद्घाटनको पहिलो दिन शैलुङ गाउँपालिकाका अध्यक्ष रिमाल बाबू श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा कार्की, विशेष अतिथि भिमेश्वर नगर प्रमुख इश्वर नारायण मानन्धर, अतिथीमा गाउँपालिका उपाध्यक्ष पार्वती कार्की लगायत आठै वटा वडाका वडाध्यक्ष, पालिकाका कर्मचारी, पालिका भित्रका विद्यालयका प्राधानाध्यापक, शिक्षक-शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।