राजकुमार भुजेल ,दोलखा। दोलखाको जिरी नगरपालिकामा १२ सय भन्दा बढी जेष्ठ नागरिकलाई न्यानो फाइबर सिरक बितरण गरिएको छ ।
जिरी नगरपालिकाको आयोजना तथा असल मित्र नेपाल नामक संस्था र क्लाइम्ब हायर इन्टरनेसनलको सहयोगमा जिरी नगरपालिका भित्रका १२ सय ५४ जना जेष्ठ नागरिकहरुलाई न्यानो फाइबर सिरक वितरण गरेको हो ।
जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको प्रमुख आतिथ्यतामा ९ वटै वडाका जेष्ठ नागरिकलाई जाडोका लागि उपयोगी न्यानो फाइबर सिरक वितरण गरिएको जिरी नगरपालिकाले जनाएको छ । संस्थाले अघिल्लो वर्ष नगरपालिकाको ९ वटै वडामा ज्याकेट वितरण गरेको थियो भने यस वर्ष न्यानो फाइबर सिरक वितरण गरेको हो । यस पुनित कार्यमा असल मित्र नेपाल नामक संस्थाले सहयोग गरेको हो । जेष्ठ नागरिकले जाडो याममा न्यानो फाइबर सिरक पाएपछि खुशी व्यक्त गरेका छन्।
कार्यक्रममा जिरी नगरपालिकाका उपप्रमुख कृष्ण माया बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, असल मित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवार, क्लाइम्ब हायर इन्टरनेसनलका प्रतिनिधि इश्वर सुनुवार, जिल्ला समन्वय समितिका उपप्रमुख दोर्जी शेर्पा, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।