राजकुमार भुजेल,दोलखा। विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई दोलखाको आयोजना तथा कालिन्चोक माध्यमिक विद्यालय चरिकोटको व्यवस्थापनमा एक दिने जिल्लाव्यापी माविस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको हो।
प्रदर्शनी प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले गरे । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालय गरी नौवटा विद्यालयले सहभागिता जनाएका थिए ।उक्त प्रतियोगितामा हलेश्वर माध्यमिक विद्यालय सुरी प्रथम, मोडर्न नेपाल स्कुल चरिकोट द्वितीय ,हिलेपाने सस्कृत माध्यमिक विद्यालय लामीडाँडा तृतीय र सान्त्वना त्रिभुवन माध्यमिक विद्यालय भएको कालिन्चोक माविका प्रधानाध्यापक शम्भु गौतमले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५,३,२,१ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रर्दशनीमा राखिएका विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।त्यस्तै जिल्ला समन्वय समिति दोलखाका प्रमुख घतानी, प्रमुख जिल्ला अधिकारी टुवाराज पोख्रेल, भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धर लगाएतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने विभिन्न विद्यालयहरुका प्रधानध्यापक, शिक्षक, विद्यार्थी सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।