चरिकोट, २० वैशाख । गत वर्ष जिल्लाका विभिन्न विद्यालयमा आफ्ना सङ्गठन विस्तारका क्रममा विद्यार्थी हकहितका ठूला ठूला गफ हाँक्ने दोलखाका विद्यार्थी सङ्गठनहरु अहिले जिल्लाको एउटा जल्दोबल्दो विद्यार्थीसँग सम्बन्धित विषयमा तैँ चुप मै चुप छन् ।
जिल्लाको कालिञ्चोक गाउँपालिकाले गत वर्ष लिएको आधारभुत तह कक्षा आठको परीक्षामा अवर्गिकृत भएका विद्यार्थीलाई ग्रेडवृद्धिको मौका नदिएको विषयले सर्वत्र चर्चा पाउँदा पनि विद्यार्थी सङ्गठनहरु कानमा तेल हालेर बसेका हुन् । पालिकाले लिएको परीक्षामा सहभागि भएका ३७७ मध्ये २८८ विद्यार्थी अवर्गिकृत भएका थिए । आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण सम्बन्धी मापदण्ड २०७६ मा नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भित्र ग्रेडवृद्धिको परीक्षा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भए पनि कालिन्चोक गाउँपालिकाले विद्यार्थीलाई उक्त मौका दिएन । ग्रेडवृद्धि मात्रै होइन, उक्त गाउँपालिकाले कुनै पनि कृपाङ्क प्रदान नगर्नुको साथै समपरीक्षण समेत नगराउँदा एक वा दुई विषयमा मात्रै अवर्गिकृत भएका कयौँ विद्यार्थीहरु ग्रेडवृद्धि परीक्षाको आशामा थिए ।
तर सुरुबाटै मापदण्डलाई मिच्दै आएको कालिन्चोक गाउँपालिकाले कुनै पनि अवसर प्रदान नगर्दा त्यस्ता विद्यार्थीहरु निराश हुँदै पुनः कक्षा आठमै दोहोरिन थालेका छन् । कतिपयले त विद्यालय नै छाडेको समेत पाइएको छ भने दोहोरिएका अधिकांश विद्यार्थीहरु पनि साविकको विद्यालय छाडेर अन्यत्रैको विद्यालयमा गएका छन् ।
विद्यार्थी अधिकार माथि यति चरम अन्याय भइरहँदा विद्यार्थी हकहितका लागि भनेर राजनीतिक दलैपिच्छे खोलिएका कथित विद्यार्थी सङ्गठनहरुले पनि त्यस विरुद्धमा खबरदारी गर्न तर परै जावस् एउटा विज्ञप्ति निकाल्ने आँट सम्म गर्न सकेका छैनन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बनेको कालिन्चोक गाउँपालिका सरकारका विरुद्ध ती दल सम्वद्ध नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले सार्वजनिक रुपमा चुँ पनि गर्न सकेका छैनन् । हेर्दाहेर्दैसँगकोे कुराकानीमा नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले विद्यार्थी माथि अन्याय भएको स्वीकार गर्दै कालिन्चोक गाउँपालिकाले त्यसो गर्न हुन्थेन, तर गर्यो भन्ने सामान्य आलटाले जवाफ दिए । अखिल क्रान्तिकारीका अध्यक्ष आर्टिस्ट मोक्तानले पनि विद्यार्थीको भविष्य माथि खेलबाड भएको छ भन्ने आफुहरुलाई लागेको बताए । तर उनले पनि अबको कदम के हुन्छ भन्ने स्पष्ट बताउन सकेनन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियूले पनि कालिन्चोक गाउँपालिकाको उक्त कदमका विरुद्ध केही बोल्ने आँट गरेको छैन । अनेरास्ववियूका जिल्ला अध्यक्ष रामचन्द्र केसीले विद्यार्थीको भविष्यमाथि कालिन्चोक गाउँपालिकाले खेलबाड गरेको भए पनि पर्याप्त प्रमाण नभएका कारण आफूहरुले केही गर्न नसकेको जवाफ दिए ।
स्मरण रहोस्, अवर्गिकृत भएका २८८ विद्यार्थी आफैमा एउटा दरिलो प्रमाण हुन् भने परीक्षा मापदण्ड भन्दा बाहिर गएर अन्यत्रैबाट त्रुटिपूर्ण प्रश्नपत्र ल्याइनु, कृपाङ्क बिनाको उत्तरपुस्तिका परीक्षणमा सम्बन्धित शिक्षकहरुले लापरबाही गर्नु, यसरी जाँचिएका उत्तरपुस्तिकाको समपरीक्षण नहुनु र विद्यार्थी एवं विद्यालयको अनुरोध गर्दा पनि ग्रेडवृद्धि परीक्षा सञ्चालन नहुनु आफैमा दरिलो प्रमाण हुन् भन्ने कुरा यी विद्यार्थी सङ्गठनले बुझ्न जरुरी छ । होइन भने विद्यार्थी हक हितका लागि लड्ने भन्दै विद्यालय विद्यालयमा गएर ठूला ठूला कुरा गरेर सङ्गठन निर्माणका नाममा माउ पार्टीका कार्यकर्ता मात्रै उत्पादन गर्ने कारखाना बन्द गरेकै बेस हुनेछ ।