दोलखामा पत्रकार सृजन घिमिरेलाई ‘पशुपति स्मृति सहकारी पुरस्कार’
‘उत्कृष्ट सञ्चारकर्मी २०८२’ का रूपमा घिमिरे पुरस्कृत
हेर्दाहेर्दै डेस्क
२६ पुष २०८२, शनिवार
388
SharesNews Summary
- पत्रकार सृजन घिमिरेलाई सहकारी अभियानलाई मर्यादित, पारदर्शी र जिम्मेवार बनाउन पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानका लागि 'पशुपति स्मृति सहकारी पुरस्कार' बाट सम्मानित गरिएको छ ।
- दोलखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभामा उनलाई ‘उत्कृष्ट सञ्चारकर्मी २०८२’ का रूपमा सम्मान गरिएको हो, जसमा अन्य उत्कृष्ट व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको थियो।
दोलखा । दोलखाका पत्रकार सृजन घिमिरे ‘पशुपति स्मृति सहकारी पुरस्कार’ बाट सम्मानित भएका छन्। सहकारी अभियानलाई मर्यादित, पारदर्शी र जिम्मेवार बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
दोलखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभाको अवसरमा दीक्षण दैनिकका सम्पादक तथा प्रेस चौतारी नेपाल, दोलखाका अध्यक्ष घिमिरेलाई ‘उत्कृष्ट सञ्चारकर्मी २०८२’ का रूपमा सम्मान गरिएको हो।
सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेड (नेफ्सकुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रलाई अनुशासित र पारदर्शी बनाउन प्रविधि तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताए। उनले सहकारी सुधारमा सञ्चारकर्मीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा वक्ताहरूले घिमिरेको लेखनले सहकारी संस्था र सदस्यबीच सूचना प्रवाहलाई सशक्त बनाउनुका साथै जिम्मेवार र उत्तरदायी सञ्चार संस्कृतिको विकासमा योगदान पुर्याएको बताए।
बचत संघ दोलखाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा सम्पन्न सभामा बागमती प्रदेशका उपाध्यक्ष जीवराज खड्काले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै पक्षबीच ऐक्यबद्धता आवश्यक रहेको बताए। त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा फुयाँलले सहकारी क्षेत्रमा बढ्दो तरलताले भविष्यमा निम्त्याउन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरे।
साधारण सभामा पत्रकार घिमिरेसँगै विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। जसमा उत्कृष्ट सहकारी अभियन्ता जीवराज खड्का, हाम्रो जनकल्याण साकोस, चाँपखोला साकोस र जनमुखी साकोस रहेका छन्।
सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजना समेत स्वीकृत गरेको छ।
388 Shares
हेर्दाहेर्दै डेस्क