२१ माघ २०८२, बुधवार

भर्खरै

राजनीति | विचार

दुईतिहाइको अहंकारविरुद्ध जेन्जी विद्रोह : नेपाली कम्युनिस्ट पार्टीको उदय

दुईतिहाइको दम्भ, राज्यको असफलता र जेन्जी विद्रोहपछि जन्मिएको नयाँ राजनीतिक विकल्प

हेर्दाहेर्दै डेस्क १२ माघ २०८२, सोमवार
दुईतिहाइको अहंकारविरुद्ध जेन्जी विद्रोह : नेपाली कम्युनिस्ट पार्टीको उदय

News Summary


 

  • काङ्ग्रेस–एमाले सरकारको दुईतिहाइ दम्भ, भ्रष्टाचार र दमनले गर्दा जेन्जी विद्रोह भयो, जसले गर्दा सरकार ढल्न पुग्यो।
  • रास्वपा जस्ता 'नयाँ विकल्प' पनि वैचारिक धरातल र नेतृत्वका काण्डहरूका कारण जनअपेक्षामा खरो उत्रिन सकेनन्।
  • यस असफल राज्यव्यवस्थाको विकल्प र जेन्जी आन्दोलनको मागहरूलाई प्रतिनिधित्व गर्दै, माओवादी केन्द्र लगायतका परिवर्तनकारी शक्तिहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीलाई अगाडि सारिएको छ।

पुष्कर अधिकारी ।

काङ्ग्रेस–एमाले गठबन्धनको झन्डै दुईतिहाइको सरकार बनेसँगै सत्तामा एउटा खतरनाक प्रवृत्ति जन्मियो—दुईतिहाइको दम्भ। जनादेशलाई उत्तरदायित्वको आधार बनाउनुको सट्टा त्यसलाई दमनको लाइसेन्स ठानियो। विशेषगरी केपी ओलीको नेतृत्वमा राज्य क्रमशः निरंकुश शासनको अभ्यासतर्फ उन्मुख हुन थाल्यो। संसद्, न्यायालय, सञ्चार माध्यम र सडक—सबैतिर जनताको आवाज दबाउने प्रयास सुरु भयो।

आसेपासेलाई पोस्ने, हरेक काण्डमा जोगाउने प्रवृत्तिले जरो गाड्यो। भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारले सीमा नाघ्यो। सरकार जनताको हितभन्दा सत्ताको रक्षामा केन्द्रित बन्यो। आफ्ना नेता, कार्यकर्ता र स्वार्थ समूहलाई जोगाउन राज्यका सबै संयन्त्र प्रयोग गरिए, अर्थात् दुरुपयोग गरिए। कानुन, प्रशासन र सुरक्षा निकाय राज्य होइन, सत्ता पक्षको निजी सम्पत्तिजस्तै प्रयोग हुन थाले। राज्य स्रोतको खुल्लमखुल्ला दुरुपयोग भयो, भ्रष्टाचार संस्थागत हुँदै गयो, र सुशासन तथा समृद्धि केवल भाषणमा मात्रै सीमित रह्यो।

यही बीचमा आफूलाई “नयाँ विकल्प” भन्दै उदाएको रास्वपाको नेतृत्व पनि जनअपेक्षामा खरो उत्रिन सकेन। पार्टीका प्रमुख नेता रवि लामिछाने स्वयं काण्डै–काण्डमा मुछिए। पटक–पटक जेल जाने अवस्था सिर्जना भयो। धरौटी राख्दै जेल यात्राबाट निस्किनु रवि लामिछानेको दिनचर्याजस्तै बन्यो। जेन्जी विद्रोहपछि जेलबाट विजय र्‍यालीजस्तो अबिर यात्रा गर्दै निस्कनुले एउटा गम्भीर प्रश्न उठायो—के केवल ‘नयाँ अनुहार’ हुनु नै नयाँ राजनीति हो?

स्पष्ट भयो—वैचारिक धरातल र जनपक्षीय प्रतिबद्धताविना नयाँपन पनि पुरानै विकृति बन्न सक्छ। एजेन्डा केवल “पुराना दलहरूले काम गरेनन्” भन्नेमै सीमित रह्यो। त्यो दल पुराना दलबाट बिरक्तिएका र रिस फेर्न दल फेर्ने कार्यकर्ताको भर्ती केन्द्रबाहेक केही देखिएन। अझै पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता लगायत विषयमा ‘नयाँ’ भन्नेहरूको स्पष्ट धारणा छैन।

यस सन्दर्भमा भदौ २३/२४ को जेन्जी विद्रोहका बेला तत्कालीन माओवादी केन्द्र, समाजवादी लगायतका दलहरू विपक्षी भूमिकामा थिए। विशेषगरी माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् र सार्वजनिक मञ्चबाट काङ्ग्रेस–एमाले सरकारलाई पटक–पटक सचेत गराउँदै आएका थिए। उनले जनताको असन्तुष्टि, बढ्दो दमन र विस्फोटको सम्भावनाबारे चेतावनी दिएका थिए। तर सत्ताको अहंकारले ती खबरदारीलाई गम्भीरतापूर्वक सुन्ने इच्छाशक्ति देखाएन।

सत्ताले जनतालाई बेवास्ता गर्ने सीमा नाघेपछि भदौ २३ गते जेन्जी विद्रोह विस्फोटका रूपमा देखा पर्‍यो। यो वर्षौँदेखि थुप्रिँदै आएको असन्तोष र तत्कालीन काङ्ग्रेस–एमाले सरकारले जनताप्रति गरेको व्यवहारको विस्फोट थियो। दुःखद कुरा, राज्यले विद्रोहको मूल कारण बुझ्नुभन्दा गोली वर्षाउन उद्दत रह्यो। विद्यालयको ड्रेस लगाएका कलिला बालबालिका सरकारको गोलीको सिकार बने। अर्बौँको सम्पत्तिमा क्षति पुग्यो, राज्य संरचना ध्वस्त भयो, र दुईतिहाइको दुहाइ दिने केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरू भागाभाग भए। सरकार २४ घण्टा पनि टिक्न सकेन।

सबैभन्दा गम्भीर प्रश्न यही हो—यो अवस्था कसले सिर्जना गर्‍यो? कसरी यो अवस्था आयो? के जनताले? कि प्रतिपक्षी दलले? कि दुईतिहाइको दम्भमा जनताको चेतावनीलाई बेवास्ता गर्ने काङ्ग्रेस–एमाले नेतृत्वले?

जब संकट आयो, जिम्मेवारी लिनुपर्ने नेताहरू भागे। राज्य असफल भयो, तर असफलताको स्वीकारोक्ति कतैबाट आएन। आन्दोलनलाई तुच्छ शब्दले आलोचना गरियो, तर मृतकप्रति एक शब्द सहानुभूति व्यक्त गरिएन।

नियमित पाँच वर्षमा हुनुपर्ने निर्वाचन आधा समयमै अर्बौँ खर्च गरेर गर्नुपर्ने अवस्था किन आयो? यो राज्यलाई परेको आर्थिक क्षति मात्र होइन, राजनीतिक असफलताको प्रमाण हो। अब प्रश्न उठ्छ—काङ्ग्रेस र एमाले जनतासामु भोट माग्न के भनेर जाने?

“हामी असक्षम भयौँ, पाँच वर्ष सरकार चलाउन सकेनौँ, फेरि मौका दिनुस्” भन्ने नै हो त?

जेन्जी विद्रोहपछि एउटा ऐतिहासिक निष्कर्ष स्पष्ट भएको छ—तत्कालीन सरकारमा रहेकाहरूले अब देशलाई सुरक्षित भविष्य दिन सक्दैनन्। आन्दोलनको मर्म, जनताको बलिदान र परिवर्तनको चाहनालाई संस्थागत गर्न माओवादी केन्द्रलगायत परिवर्तनकारी शक्तिहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ। यो कुनै आकस्मिक गठजोड होइन; यो समग्र जेन्जी आन्दोलनका मागहरूको राजनीतिक अभिव्यक्ति हो।

नेपाली कम्युनिस्ट पार्टीले उठाउँदै आएका मुद्दाहरू नै जेन्जी आन्दोलनका मूल मागहरू हुन्। २०७२ को संविधानमै पार्टीले असहमति जनाएका विषयहरू नै आज जेन्जीका मागका रूपमा देखिएका छन्। त्यसैले यो पार्टी केवल अर्को दल मात्रै होइन; यो असफल राज्यव्यवस्थाविरुद्ध र काङ्ग्रेस–एमालेको वैचारिक विकल्प हो।

आज प्रश्न सत्ता कसले लिन्छ भन्नेभन्दा ठूलो छ—देश कुन दिशामा जान्छ?

काङ्ग्रेस–एमालेले देखाएको अहंकारी शासन, रास्वपाले देखाएको अपरिपक्व नेतृत्व र पुरानो व्यवस्थाको सीमाले जनतालाई स्पष्ट सन्देश दिएको छ। अब बहानाको राजनीति होइन, परिवर्तनको राजनीति आवश्यक छ।

त्यसैले अबको विकल्प कुनै भ्रम होइन—नेपाली कम्युनिस्ट पार्टी नै हो। यो विकल्प जनताको विद्रोहबाट जन्मिएको हो, चेतावनीलाई समयमै सुन्ने र परिवर्तनलाई व्यवहारमा उतार्ने प्रतिबद्धतासहित अगाडि बढेको शक्ति हो।

जनताको एकमात्र विकल्प नयाँ, युवा, विकासप्रेमी, देशप्रेमी, सक्षम र सबल नेतृत्व हो—नेपाली कम्युनिस्ट पार्टी।

देश बदल्न र आमूल परिवर्तनका लागि एकपटक आम नेपालीले विश्वास गर्न जरुरी छ।

 

719 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट