विशाल खड्का केवल उम्मेदवार मात्र होइनन्, दोलखाको समृद्धिको भरोसा हुन् : शंकर लामा
विपक्षीमा कलह र टिकटको किचलो, नेकपामा चट्टानी एकता
हेर्दाहेर्दै डेस्क
१४ माघ २०८२, बुधवार
781
SharesNews Summary
- नेकपाका नेता शंकर लामाले विशाल खड्काको दोलखा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारीलाई समृद्धिको नयाँ ढोकाका रूपमा व्याख्या गरेका छन्।
- लामाले खड्कालाई भिजन भएको युवा नेतृत्व, जोश, होस र विकासको भरोसाको केन्द्र भएको व्यक्ति बताएका छन्।
- पार्टीभित्र देखिएको अभूतपूर्व एकता र खड्काको सर्वसम्मत चयनले दोलखामा जित सुनिश्चित भएको लामाको दाबी छ।
काठमाडौँ । नेकपाका केन्द्रीय सदस्य शंकर लामाले दोलखाको प्रतिनिधि सभा निर्वाचनका लागि विशाल खड्काको चयन हुनु नै जिल्लाबासीका लागि समृद्धिको नयाँ ढोका खुल्नु रहेको बताएका छन्। उनले खड्का केवल एउटा पार्टीको उम्मेदवार मात्र नभई समग्र दोलखाको विकास र परिवर्तनको भरोसाको केन्द्र भएको दाबी गरे।
बुधबार काठमाडौँको प्रज्ञा भवनमा नेकपा मेलुङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको चुनावी छलफल कार्यक्रममा बोल्दै नेता लामाले विशाल खड्काको सर्वसम्मत चयनले जितको मार्ग प्रशस्त गरिसकेको बताए।
युवा नेतृत्व र समृद्धिको एजेन्डा
नेता लामाले विशाल खड्काको प्रशंसा गर्दै भने, "दोलखाले लामो समयदेखि एउटा भिजन भएको युवा नेतृत्व खोजिरहेको थियो। विशाल खड्कासँग त्यो जोश, होस र योजना छ। उहाँको उम्मेदवारीले युवा पुस्तामा ठूलो उत्साह जगाएको छ र उहाँ नै अबको समृद्धिको मुख्य आधार हुनुहुन्छ।"
खड्काको विकासप्रेमी छविले गर्दा पार्टीका कार्यकर्ता मात्र नभई आम जनता पनि उत्साहित रहेको लामाको भनाइ थियो।
एकता र जितको सुनिश्चितता
लामाले अन्य दलहरूमा उम्मेदवार चयनकै क्रममा तीव्र विवाद र गुटबन्दी देखिएको उल्लेख गर्दै नेकपामा देखिएको सर्वसम्मत निर्णयले जितलाई सहज बनाएको बताए। "अरु पार्टीमा टिकटको विषयलाई लिएर अहिले पनि असन्तुष्टि चर्किएको छ," उनले थपे, "तर हाम्रो पार्टीमा विशाल खड्काको नाममा अभूतपूर्व एकता छ। यही चट्टानी एकता र जनताको अपार मायाले हाम्रो जित सुनिश्चित गरिसकेको छ।"
कार्यकर्तालाई चुनावी कमान्ड सम्हाल्न आह्वान
कार्यक्रममा उपस्थित दोलखाका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिँदै लामाले अबको केही समय पूर्ण रूपमा चुनावी अभियानमा होमिन आग्रह गरे। उनले भने, "विशाल खड्काको विचार र विकासको एजेन्डालाई हरेक मतदाताको ओठमा पुर्याउनुहोस्। यो चुनाव केवल व्यक्ति जित्ने चुनाव होइन, यो दोलखाको भविष्य जित्ने चुनाव हो।"
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि विशाल खड्काको सक्षम नेतृत्व र सक्रियताले दोलखाको मुहार फेरिने विश्वास व्यक्त गरेका थिए।
781 Shares
हेर्दाहेर्दै डेस्क