११ माघ २०८२, आइतवार

भर्खरै

एमालेभित्र बिचौलियाको प्रभाव?

‘जनताको मन जित्नु काफी रहेन’ — एमालेभित्रकै तिकडमले रोक्यो शिवाकोटीको उम्मेदवारी

अन्तरघात, बिचौलिया र अस्वस्थ राजनीतिक खेलको संकेत गर्दै शिवाकोटीले सार्वजनिक गरे पीडादायी अनुभव

हेर्दाहेर्दै डेस्क ११ माघ २०८२, आइतवार
‘जनताको मन जित्नु काफी रहेन’ — एमालेभित्रकै तिकडमले रोक्यो शिवाकोटीको उम्मेदवारी

Photo from facebook

News Summary


  • प्रतिनिधि सभा सदस्यका आकांक्षी बालकृष्ण शिवाकोटीले पार्टीभित्रको तिकडम, अस्वस्थ राजनीतिक खेल र बिचौलियाको प्रभावले आफू उम्मेदवार बन्न नसकेको गुनासो गरेका छन्।
  • उनले उम्मेदवार बन्न जनताको मनमा बस्नु मात्र पर्याप्त नहुने, नेतृत्व र बिचौलियाको नाजायज आकांक्षा पूरा गर्नुपर्ने तितो यथार्थ स्वीकार गरेका छन्।
  • यस्तो घेराभित्र नपस्ने आफ्नो स्वभावमा गर्व गर्दै, उनले मैदानबाट नभाग्ने र दोलखाको माटोसँग सधैं जोडिने प्रतिबद्धता व्यक्त गरेका छन्।

दोलखा । नेकपा (एमाले) दोलखाबाट प्रतिनिधि सभा सदस्यका आकांक्षी बालकृष्ण शिवाकोटीले पार्टीभित्रकै तिकडम, अस्वस्थ राजनीतिक खेल र बिचौलियाको प्रभावका कारण आफू उम्मेदवार बन्न नसकेको कडा संकेत गरेका छन्। उम्मेदवार चयन प्रक्रियापछि सार्वजनिक गरेको भावुक सन्देशमार्फत उनले जनताको भरोसा र लोकप्रियता मात्र पर्याप्त नहुने तितो यथार्थ स्वीकार गरेका हुन्।

शिवाकोटीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचन स्मरण गर्दै अत्यन्त कठिन राजनीतिक परिस्थितिमा महागठबन्धनविरुद्ध लड्दा झिनो मतान्तरले पराजित हुनुपरेको बताएका छन्। उनका अनुसार त्यो हार केवल मत गणनाको परिणाम थिएन, पार्टीभित्रबाटै भएका केही अस्वाभाविक, पीडादायी र आत्मघाती गतिविधिले परिणामलाई प्रभावित गरेको थियो। “यथार्थ तितो हुन्छ, तर मौन बस्नुभन्दा स्वीकार गर्नु नै इमानदारी हो,” उनले उल्लेख गरेका छन्।

प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बन्ने लगभग निश्चित भइसकेको अवस्थामा तत्कालीन पोलिटब्युरो सदस्य पार्वत गुरुङको प्रेरणामा प्रतिनिधिसभामा उम्मेदवारी दिएको प्रसंग स्मरण गर्दै शिवाकोटीले त्यसपछिको उम्मेदवार सिफारिस प्रक्रिया योजनाबद्ध अन्यायपूर्ण भएको आरोप लगाएका छन्। उनले यस्तो चलखेलले आफू मात्र होइन, असंख्य इमानदार कार्यकर्ताको मन गहिरो रूपमा दुखाएको बताएका छन्।

महागठबन्धन, बुथ क्याप्चर, राज्य संयन्त्रको दुरुपयोगजस्ता प्रतिकूलताबीच पनि अपार माया र समर्थन हुँदाहुँदै नतिजा आफ्नो पक्षमा नआउनु जीवनकै पीडादायी क्षणमध्ये एक भएको उनको भनाइ छ। यद्यपि उनले पुनः घाउ कोट्याउन नचाहेको पनि स्पष्ट पारेका छन्।

उम्मेदवार छनोटदेखि निर्वाचन अभियानसम्म साथ दिने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र दोलखावासीप्रति कृतज्ञता व्यक्त गर्दै शिवाकोटीले यसपटक अपेक्षा पूरा गर्न नसक्दा विनम्रतापूर्वक क्षमाप्रार्थी भएका छन्। भूकम्प, कोरोना, बाढी–पहिरोजस्ता संकटमा दोलखाली जनतासँगै उभिँदै आएको उल्लेख गर्दै उनले राजनीति आफ्नो पेशा नभई प्रतिबद्धता भएको बताएका छन्।

“उम्मेदवार बन्न जनताको मनमा बसेर मात्र नपुग्ने रहेछ,” उनले लेखेका छन्, “नेतृत्व वरिपरि घुम्ने र बिचौलियाको नाजायज आकांक्षा पूरा गर्नुपर्ने रहेछ।” त्यस्तो घेराभित्र पस्न नसक्नु कमजोरी नभई आफ्नो स्वभाव भएको दाबी गर्दै उनले त्यसमा गर्व गरेको उल्लेख गरेका छन्।

अन्त्यमा शिवाकोटीले पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका आधिकारिक उम्मेदवारलाई विजयको शुभकामना दिँदै आफू मैदानबाट नभाग्ने स्पष्ट सन्देश दिएका छन्। “म हारेर थाकेको छैन, म अझै पनि दोलखाको माटोसँग जोडिएको छु,” उनले भनेका छन्।

722 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट