राजा त्रिभुवनलाई प्रभावित पारेको ‘बोचको खुकुरी’ आज अस्तित्व जोगाउन संघर्षरत
एक समय दरबारदेखि सेनासम्म चर्चामा रहेको परम्परागत सीप बजार र पुस्तान्तरणको अभावमा संकटमा
Photo : Chiranjibi Maske
अबिरल बस्नेत (सुरज)
१८ पुष २०८२, शुक्रवार
373
SharesNews Summary
- दोलखाको बोच गाउँको 'बोचको खुकुरी', जुन राजा त्रिभुवनले समेत मन पराएका थिए, अहिले अस्तित्व जोगाउन संघर्षरत छ।
- अर्जुनबहादुर विश्वकर्मा र उनका भाइ भीमसेनले पुस्तौंदेखि यो परम्परागत सीप जोगाइरहेका छन्, तर नयाँ पुस्ताको अरुचि र बजारको अभावले यसको भविष्य अनिश्चित छ।
- यो सांस्कृतिक सम्पदाको संरक्षणका लागि सीप हस्तान्तरण, प्रवर्द्धन र बजारीकरणमा स्थानीय सरकारको गम्भीर ध्यान आवश्यक छ।
दोलखा। दोलखाको बोच गाउँमा एक समय हतियार मात्र होइन, पहिचान थियो— ‘बोचको खुकुरी’। धार, दाप र बिडको सन्तुलनले राजा त्रिभुवनसम्मलाई प्रभावित पारेको यही खुकुरी आज भने अस्तित्व जोगाउन संघर्षरत अवस्थामा पुगेको छ।
इतिहासका पानामा सीमितजस्तै बनेको यो परम्परागत सीपलाई अहिले पनि जोगाइरहेका छन्— अर्जुनबहादुर विश्वकर्मा र उनका भाइ भीमसेन विश्वकर्मा। दोलखा भीमेश्वर नगरपालिका–८, बोचका उनीहरू पुस्तौँदेखि खुकुरी बनाउँदै आएको परिवारका अन्तिम पुस्ताजस्तै देखिन्छन्।
“हाम्रा बराजे सिंहे विश्वकर्माले बनाएको खुकुरी राजा त्रिभुवनले मन पराएपछि ‘बोचको खुकुरी’ भनेर देशभर चर्चा भयो,” अर्जुनबहादुर विगत सम्झँदै भन्छन्, “त्यसबेला यो पेशा निकै फस्टाएको थियो।”
दरबारसम्म पुगेको त्यो खुकुरीको किस्सा आज पनि गाउँमा सुनाइन्छ। पानीले भिजाएको रुमाल खुकुरीको धारमा खसाल्दा दुई टुक्रा भएपछि राजा त्रिभुवन प्रभावित भएको कथन अझै जीवित छ।
सिंहे विश्वकर्माबाट सुरु भएको खुकुरी निर्माणको यात्रा कमलवीर, चर्तुमान र छत्रलाल विश्वकर्मा हुँदै अहिले अर्जुनबहादुरको पुस्तासम्म आइपुगेको छ। बराजे, जिजुबाजे र बाजेको पालासम्म रामेछापको ठोसेस्थित फलाम खानीको फलाम प्रयोग गरिन्थ्यो। समय फेरिँदै जाँदा काठमाडौँबाट ल्याइने फलाम प्रयोग हुन थाल्यो।
तर समयसँगै बजार फेरियो, जीवनशैली बदलियो र पेशाप्रतिको आकर्षण पनि घट्दै गयो। “नयाँ पुस्ता यो पेशामा आउन चाहँदैन,” अर्जुनबहादुर भन्छन्, “बजार पनि खुम्चिँदै गएकाले अब यो पेशा टिक्ला कि नटिक्ला भन्ने चिन्ता छ।”
बुबा छत्रलालको पालासम्म बोचको खुकुरीको बजार निकै सबल थियो। गाउँका सबै मिलेर खुकुरी बनाइन्थ्यो र काठमाडौँमा एकैपटक पाँच सय वटासम्म बिक्रीका लागि लगिन्थ्यो। त्यसबेला आकारअनुसार दुई रुपैयाँसम्ममा बिक्री हुने खुकुरीको ठूलो हिस्सा नेपाली सेनाले खरिद गर्ने गर्थ्यो।
खुकुरीको गुणस्तर धारमा मात्र सीमित हुँदैन। दापका लागि पैँयु र उतिसको काठ तथा बिडका लागि गुराँस, सतिसाल र सिसौ प्रयोग गरिन्छ। “यी सबै पक्ष बोचको खुकुरीमा सन्तुलित रूपमा समेटिएका हुन्छन्,” अर्जुनबहादुर दाबी गर्छन्।
अहिले पनि अर्जुनबहादुरले भाइ र केही गाउँलेसँग मिलेर वर्षमा दुईदेखि तीन सयवटा खुकुरी बनाइरहेका छन्। ठूलो खुकुरीको मूल्य ६ हजारदेखि १० हजार रुपैयाँसम्म र सानो खुकुरीको मूल्य २ देखि ३ हजार रुपैयाँसम्म पर्छ।
स्थानीय कुमार लगुनका अनुसार बोचको खुकुरी केवल उत्पादन मात्र होइन, सांस्कृतिक सम्पदा हो। “यसको संरक्षणका लागि सीप हस्तान्तरण, प्रवर्द्धन र बजारीकरणमा स्थानीय सरकारले गम्भीर ध्यान दिन जरुरी छ,” उनी भन्छन्।
एक समय दरबारमा चम्किएको बोचको खुकुरी आज गाउँमै अस्तित्व जोगाउने संघर्षमा छ। समयमै संरक्षण र प्रवर्द्धन नहुँदा यो परम्परागत सीप इतिहासमै सीमित हुने खतरा बढ्दै गएको छ।
373 Sharesलेखकको बारेमा

अबिरल बस्नेत (सुरज)