उम्मेदवारसँग सिधा प्रश्न: मञ्चमा तीन उम्मेदवार, अजयबाबु र पार्वतको कुर्सी रित्तै !
विशाल, जगदिश र प्रविणले प्रश्नको सामना गर्दा अजयबाबु र पार्वत किन पन्छिए?
हेर्दाहेर्दै डेस्क
८ फागुन २०८२, शुक्रवार
182
SharesNews Summary
- दोलखाको सिङ्गटीमा युवाहरूले उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर 'सिधा प्रश्न' गर्ने कार्यक्रम आयोजना गरे।
- तर, प्रमुख दलका उम्मेदवारहरू कार्यक्रममा अनुपस्थित रहे, जसले अबको राजनीति भाषणभन्दा बहस र उत्तरदायित्वमा आधारित हुनुपर्छ भन्ने नयाँ मानक स्थापित गर्यो।
दोलखा । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा दोलखाको उत्तरी व्यापारिक केन्द्र सिङ्गटीमा शुक्रबार एउटा फरक र अर्थपूर्ण राजनीतिक दृश्य देखियो। दलका उम्मेदवारहरू गाउँ-गाउँ पुगेर एकतर्फी भाषण गरिरहेका बेला स्थानीय युवाहरूले भने उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर 'सिधा प्रश्न' गर्ने साहसिक अभ्यास गरे।
'सिङ्गटी जागृत युवा समूह' (Youth Voice Dolakha) द्वारा आयोजित "म सोध्छु मेरो उम्मेदवारलाई प्रश्न" कार्यक्रममा जिल्लाका सबै प्रमुख दलका उम्मेदवारहरूलाई आमन्त्रण गरिएको थियो। तर, कार्यक्रममा रोचक दृश्य तब देखियो जब स्थापित र 'प्रमुख' भनिएका दलका उम्मेदवारहरू नै अनुपस्थित रहे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदिश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रविण कुमार थोकर सहभागी थिए। उनीहरूले स्थानीय युवा र मतदाताले सोधेका विकासका योजना, सुशासन र जिल्लाको भविष्यका बारेमा गरिएका कडा प्रश्नहरूको सामना गरे। उपस्थित युवाहरूले उम्मेदवारहरूसँग केवल आश्वासन मात्र नभई कार्यान्वयनको ठोस आधार र मार्गचित्र समेत माग गरेका थिए।
कार्यक्रममा सबैको नजर मञ्चमा राखिएका दुईवटा खाली कुर्सीमा थियो। नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङ कार्यक्रममा सहभागी भएनन्। उनीहरूका लागि छुट्याइएको कुर्सी कार्यक्रम अवधिभर खाली रहँदा त्यसले कार्यक्रमलाई केही 'अस्वाभाविक' देखाएको थियो।
सहभागीहरू माझ यो विषय चर्चाको केन्द्र बन्यो— "के प्रमुख दलका उम्मेदवारहरू जनताको सिधा प्रश्नको सामना गर्न हच्किएका हुन् त?" संयोगवश उनीहरू अन्य अभियानमा व्यस्त रहेका हुन् वा जानाजानी पन्छिएका हुन्, त्यो उनीहरूले नै स्पष्ट पार्लान्। तर, सचेत युवाहरूको अगाडि उभिन नचाहनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्।
दोलखाको इतिहासमै पहिलोपटक सबै दलका उम्मेदवारलाई एउटै मञ्चमा बोलाएर सिधा प्रश्न र उत्तर खोज्ने सिङ्गटीका युवाहरूको यो प्रयत्नलाई स्थानीयले सराहनीय मानेका छन्। "उम्मेदवारले अब भाषण मात्र गरेर पुग्दैन, जनताप्रति जवाफदेही पनि हुनुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ," आयोजक समूहका एक सदस्यले बताए।
सिङ्गटीको यो प्रयासले अबको राजनीति 'भाषण' मा मात्र सीमित नभई 'बहस र उत्तरदेहिता' मा आधारित हुनुपर्छ भन्ने नयाँ मानक स्थापित गरिदिएको छ।
182 Shares
हेर्दाहेर्दै डेस्क