२७ फागुन २०८२, बिहिवार

भर्खरै

स्वास्थ्य / दोलखा

दोलखामा सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

तामाकोशी–४ मालुस्थित गोल्मेश्वर माविमा कक्षा ८–१२ का ८४ विद्यार्थी सहभागी, सामाजिक सञ्जालको सही प्रयोगबारे सचेतना

हेर्दाहेर्दै डेस्क २७ फागुन २०८२, बुधवार
दोलखामा सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

News Summary


  • जनस्वास्थ्य कार्यालय दोलखाले तामाकोशी गाउँपालिकाका ८४ जना विद्यार्थीलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यो।
  • कार्यक्रममा सामाजिक सञ्जालका सकारात्मक/नकारात्मक पक्ष, FOMO, डूमस्क्रोलिङका असर र आँखाको स्वास्थ्यका लागि '२०-२०-२० नियम' बारे जानकारी दिइयो।
  • विद्यार्थीमार्फत परिवार र समुदायसम्म डिजिटल सचेतना फैलाउनु यस कार्यक्रमको मुख्य उद्देश्य थियो।

दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा मंगलबार तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा ‘सामाजिक सञ्जालको समुचित प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ८४ जना विद्यार्थी सहभागी भएका थिए। विद्यालयका प्रधानाध्यापक प्रविन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज केसी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, हेल्थ असिस्टेन्ट राम कौशल यादव, तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख मञ्जु न्यौपाने तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ र धुलिखेल–दोलखा अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक विष्णु पौडेलले सहजीकरण गरेको कार्यक्रममा सामाजिक सञ्जालको समुचित प्रयोग, त्यसका सकारात्मक पक्ष, दुरुपयोगबाट हुन सक्ने असर तथा जिम्मेवार रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने उपायबारे जानकारी दिइएको थियो।

त्यसैगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट देखिन सक्ने ‘FOMO’ (Fear of Missing Out) तथा निरन्तर नकारात्मक सामग्री हेर्दै बस्ने ‘डूमस्क्रोलिङ’ जस्ता प्रवृत्तिबाट हुने मानसिक तथा शारीरिक असरबारे पनि विद्यार्थीहरूलाई सचेत गराइएको थियो।

डिजिटल उपकरण प्रयोग गर्दा नियमित विश्राम लिनुपर्ने र आँखाको स्वास्थ्यका लागि ‘२०–२०–२० नियम’ (हरेक २० मिनेटमा २० सेकेन्डका लागि २० फिट टाढाको वस्तु हेर्ने) अपनाउनुपर्ने विषयमा पनि जानकारी दिइएको थियो।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक प्रविन केसीले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार डिजिटल नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालयमा प्राप्त ज्ञान विद्यार्थीहरूले आफ्ना घरपरिवार तथा समुदायमा पनि पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापनमा जनस्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक र सन्तुलित बनाउनु आजको आवश्यकता भएको बताए। उनले विद्यार्थीहरूले सिकेको कुरा आफ्ना घरपरिवार, टोलछिमेक र समुदायमा बाँडेर सचेतना फैलाउन सक्ने बताए।साथै ‘Child to Family Strategy’ अन्तर्गत विद्यार्थीमार्फत स्वास्थ्य तथा सामाजिक सन्देश समुदायसम्म पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

115 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट