गौरीशंकरमा ‘हाम्रो गौरीशंकर’ स्थानीय पाठ्यपुस्तकबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
स्थानीय पाठ्यपुस्तक निर्माण, सामग्री छनोट र प्रभावकारी शिक्षण विधिबारे शिक्षकहरूलाई प्रशिक्षण
हेर्दाहेर्दै डेस्क
२७ फागुन २०८२, बुधवार
93
SharesNews Summary
- गौरीशंकर गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित 'हाम्रो गौरीशंकर' पाठ्यपुस्तक सम्बन्धी शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
- शिक्षकहरूलाई स्थानीय पाठ्यपुस्तक निर्माण प्रक्रिया, सामग्री छनोट र प्रभावकारी शिक्षणबारे जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य थियो।
- यसबाट गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रवर्द्धन र पाठ्यपुस्तक निर्माण प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ।
दोलखा । गौरीशंकर गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो गौरीशंकर’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, शिक्षा अधिकृत भिमसेन विष्ट, विभिन्न विद्यालयका शिक्षक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा धुलिखेलस्थित शैक्षिक सशक्तीकरण केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य शिक्षकहरूलाई स्थानीय पाठ्यपुस्तक निर्माणको प्रक्रिया, संरचना, सामग्री छनोट तथा शिक्षणमा यसको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको बताइएको छ। कार्यक्रममा सहभागी शिक्षकहरूले पाठ्यपुस्तक निर्माणका विभिन्न चरण, स्थानीय सन्दर्भअनुसार विद्यार्थीमैत्री सामग्री समावेश गर्ने तरिका तथा प्रभावकारी शिक्षण अभ्यासबारे प्रशिक्षण प्राप्त गरेका थिए।
गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले शिक्षकहरूलाई सकारात्मक, व्यावहारिक तथा सहभागी शिक्षण विधि अपनाउन प्रोत्साहित गर्ने विश्वास गरिएको छ। यसबाट स्थानीय पाठ्यपुस्तक निर्माण प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बन्ने तथा गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
93 Shares
हेर्दाहेर्दै डेस्क