१० फागुन २०८२, सोमवार

भर्खरै

दोलखा एमालेमा भण्डारीको ‘यू–टर्न’ : कार्यकर्ता असन्तुष्ट, स्वार्थको शंका बढ्दै

विभाजनका अगुवा भण्डारी फेरि एमाले फर्किन खोजेका हुन्?

पूर्व विभाजनकर्ताको सम्भावित फिर्तीले दोलखा एमालेभित्र असन्तोष र शंका बढाएको देखिन्छ

हेर्दाहेर्दै डेस्क १० फागुन २०८२, आइतवार
विभाजनका अगुवा भण्डारी फेरि एमाले फर्किन खोजेका हुन्?

News Summary


  • दोलखा एमाले विभाजनको नेतृत्व गरेका शिवप्रसाद भण्डारी पुनः एमाले फर्कन लागेको चर्चाले संगठनभित्र गहिरो असन्तोष पैदा गरेको छ।
  • भण्डारीसँगै गएका अधिकांश नेताहरू अर्को ‘नेकपा’ मा समाहित भइसकेकोले उनको एक्लो फिर्तीलाई कार्यकर्ता र पुराना नेताहरूले अवसरवादी प्रवृत्तिको रूपमा हेरेका छन्।

चरीकोट (दोलखा) — दोलखा जिल्लाको एमाले आन्तरिक राजनीति फेरि तरंगित बनेको छ। एक समय पार्टी विभाजनको अगुवा रहेका पुराना नेता शिवप्रसाद भण्डारी पुनः नेकपा एमाले फर्किन लागेको चर्चा चलेसँगै संगठनभित्र गहिरो असन्तोष सुरु भएको छ।

संसद् विघटनदेखि विभाजनसम्म

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्रै विभाजन निम्त्याएको थियो। ओलीको नेतृत्वशैलीलाई आलोचकहरूले ‘दम्भपूर्ण’ र ‘एकाधिकारवादी’ भन्दै आएका छन्। यही असन्तुष्टिका कारण पार्टी फुट भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो। दोलखामा उक्त विभाजनको नेतृत्व स्वयं भण्डारीले गरेका थिए भने पार्टी विभाजन पछि दोलखा एमालेले यसअघिका निर्वाचनमा पराजय भोग्नुपरेको थियो।

सिंगो संरचना नेकपातिर, भण्डारी एक्लै एमालेतिर

तत्कालीन नेकपा (एकीकृत समाजवादी) का दोलखाका प्रभावशाली नेता भिम दहाल, गोपाल न्यौपाने, दिनेश शिवाकोटी, रबिन्द्र कार्की, भुवनसिंह थापा, शान्त बस्नेत, प्राेणप्रताप केसि, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, चुनु केसी, संगीता पाखृन लगायतका नेताहरू सिंगो संरचनासहित ‘नेकपा’ मा एकतामार्फत समाहित भइसकेका छन्। वैचारिक नेता बाबुकाजी कार्की, हरिहर कार्की, गुरु प्रसाद खरेल लगायतका नेताहरू अहिलेसम्म तटस्थ बसेका छन्। संभवतः उनीहरू एमालेमा फर्किने छैनन्।

तर विभाजनका अगुवा भण्डारी भने एक्लै एमाले फर्किन खोजिरहेका छन्। यसले संगठनभित्र गम्भीर प्रश्न उठाएको छ— नेतृत्व गरेर फुटाउने, संरचना उतै लैजाने, तर अन्तिम अवस्थामा आफूचाहिँ पुरानै पार्टीमा सुरक्षित अवतरण खोज्ने?

एक स्थानीय कार्यकर्ताको कटाक्ष:
“सिंगो टिम नेकपातिर छ, तर नेतृत्वकर्ता मात्रै एमाले फर्किँदैछन् भने यसमा वैचारिक स्पष्टता कहाँ देखिन्छ?”

आफुलाई आवश्यक पर्दा गुरु, नत्र पाखा लगाउने चरित्र

भण्डारीको फिर्तीले कार्यकर्तामाझ असन्तोष बढ्ने देखिन्छ। आफूसँगै पार्टी छोडेका नेता–कार्यकर्ता धेरै अर्कोतर्फ समाहित भइसकेको अवस्थामा पनि कतिपय स्थानीय कार्यकर्ताहरूले भण्डारीलाई आदर्श ठानेर बसेका थिए। अहिलेको फिर्तीले उनीहरूमा निराशा र असन्तोष थपाएको छ।

भण्डारी निकट मानिने गुरु प्रसाद खरेलले सामाजिक सञ्जालमा लेख्दै असहमति जनाएका छन्—
“कठिन समयमा साथ नछोड्ने हामी, तर सुविधा हेरेर फर्किने निर्णयमा साथ टुट्छ।”

संस्थापक नेताहरूको नजरमा अवसरवाद

दोलखा एमालेका संस्थापक नेताहरू—जितबीर लामा, लालकुमार केसी, आनन्द पोखरेल र शिव भण्डारी—पार्वत गुरुङको नेतृत्वमा आफूहरू किनारा लगाइएको महसुस गर्दै आएको कुरा स्वयं शिवप्रसाद भण्डारीले सार्वजनिक रूपमा बताउँदै आएका छन्।

तर चुनाव नजिकिँदै जाँदा पुराना नेताहरूलाई अचानक ‘महत्त्वपूर्ण’ भन्दै खोजिनु र भण्डारीको फिर्तीले कार्यकर्ताबीच अवसरवादी प्रवृत्तिको आरोप जन्माएको छ।

एक कार्यकर्ताको टिप्पणी:
“एमाले प्रवेश फोटो सेसन होइन; यहाँ त्याग, निरन्तरता र निष्ठाको मूल्य हुनुपर्छ।”

घरभित्रै दोहोरो राजनीतिक सन्देश

भण्डारीको पारिवारिक पृष्ठभूमि पनि चर्चाको विषय बनेको छ। उनका छोरा विशाल भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय छन्। बुबा एमाले फर्किने र छोरा रास्वपामा रहनुले कतिपयले यसलाई परिवारकै राजनीतिक सुरक्षा रणनीति भनेर व्याख्या गरेका छन्।

देशभर एमाले छोड्ने क्रम बढ्दो छ। दोलखा पनि यसबाट अछुतो छैन। पुराना प्रभावशाली नेता भरत दुलाल, होम पाठक, रामशरण खाती लगायतका नेताहरू एमालेबाट बिद्रोह गरी नेकपामा समाहित भइसकेका छन्।

भण्डारीको फिर्तीले संगठन सुदृढीकरण ल्याउने कि व्यक्तिगत स्वार्थ र चुनावी सुरक्षित अवतरणको संकेत दिने— यसको उत्तर आगामी चुनावी परिणाम र समयले दिनेछ।

अहिलेसम्मको परिस्थितिमा, दोलखा एमालेभित्र सहानुभूति भन्दा शंका र असन्तोषको स्वर नै बलियो देखिएको छ।

222 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट