गौरीशंकर गाउँपालिकामा एसइइपछि के पढ्ने भन्नेबारे विशेष कक्षा सम्पन्न
गौरीशंकरमा एसइइपछि मार्गदर्शन कक्षा सम्पन्न
हेर्दाहेर्दै डेस्क
४ चैत २०८२, बुधवार
93
SharesNews Summary
- गौरीशंकर गाउँपालिकाले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै विषय छनोटमा सहयोग पुर्याउन विशेष मार्गदर्शन कक्षा सञ्चालन गर्यो।
- उक्त कार्यक्रममा शैक्षिक/पेशागत अवसर, छात्रवृत्ति प्रक्रियाबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृतले विद्यार्थीहरूलाई रुचि र क्षमताअनुसार विषय छनोट गर्न प्रोत्साहित गरे।
दोलखा । गौरीशंकर गाउँपालिकाले एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै विशेष मार्गदर्शन कक्षा सञ्चालन गरेको छ। गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयहरूमा पुगेर सञ्चालन गरिएको उक्त कार्यक्रमले एसइइपछि विषय छनोटमा देखिने अन्योलता कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा एसइइपछि कुन विषय अध्ययन गर्ने, विभिन्न शैक्षिक तथा पेशागत क्षेत्रमा रहेका सम्भावनाहरू, साथै सरकारी तथा निजी छात्रवृत्ति प्राप्त गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो।
कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले गरेका थिए। उनले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै रुचि र क्षमताअनुसार विषय छनोट गर्नुपर्नेमा जोड दिए। सही मार्ग पहिचान गर्न सके भविष्यको लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो।
उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। गाउँपालिकाको यस्तो पहलले एसइइपछि शैक्षिक यात्रा तय गर्न आवश्यक स्पष्टता दिनुका साथै विद्यार्थीमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ।
93 Shares
हेर्दाहेर्दै डेस्क