बगर–चोकटी जोड्ने सुनकोसी पुलको मन्त्री पौडेलद्वारा शिलान्यास
बाह्रबिसे–२ बगर र त्रिपुरासुन्दरी–२ चोकटी जोड्ने पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने मन्त्री पौडेलको निर्देशन।
188
SharesNews Summary
बगर र चोकटी जोड्ने सुनकोसी पुलको बागमती प्रदेशका मन्त्री सरल सहयात्री पौडेलले शिलान्यास गरेका छन्।
मन्त्री पौडेलले पुल निर्माणको काम चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
पुल निर्माणपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ बगर र त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटी जोड्ने बगर सुनकोसी पुलको शिलान्यास गरिएको छ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले पुलको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा मन्त्री पौडेलले पुल निर्माणको कामलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले निर्माणमा ढिलासुस्ती नगर्न र आवश्यक जनशक्ति तथा सामग्री परिचालन गरी निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न आग्रह गरे।
मन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय आवश्यकता र दीर्घकालीन महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। सडक तथा पुल निर्माणले नागरिकको आवागमन सहज बनाउनुका साथै आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय गतिविधिलाई समेत टेवा पुर्याउने उनको भनाइ थियो।
त्यस्तै, उनले बाह्रबिसे–बुदेपा–बगर सडकको स्तरोन्नतिसहित यस क्षेत्रको समग्र सडक सञ्जाललाई व्यवस्थित र स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यस क्षेत्रमा पुल निर्माण भएपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै धार्मिक स्थल र पर्यटकीय गन्तव्यसम्मको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
188 Shares