उपचारदेखि शिक्षासम्म विपन्नका सहारा बन्दै सुवास लामा
दोलखालीलाई स्वास्थ्य उपचारमा सहुलियत, विपन्न विद्यार्थीलाई पढाइमा सहयोग।
1055
SharesNews Summary
सुवास लामाको पहलमा काठमाडौंको एभरेस्ट अस्पतालमा दोलखाली नागरिकले स्वास्थ्य परीक्षणमा २५ र औषधिमा १० प्रतिशत छुट पाउँदै आएका छन्।
पछिल्लो चार महिनामा १९ जनाले शल्यक्रियासहित उपचार र ४३ जनाले ओपीडी सेवा लिएका छन्।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनका लागि सहयोग गर्दै आएका छन्।
नेपाली कांग्रेसमा आबद्ध लामा दलगत आस्थाभन्दा माथि उठेर गलत कामविरुद्ध आवाज उठाउनुपर्ने मान्यता राख्छन्।
दोलखा । आर्थिक अभावकै कारण कसैले उपचारबाट बञ्चित हुन नपरोस् र पैसाको कमीले कुनै विद्यार्थीको पढाइ नरोकियोस्। यही सोचका साथ सामाजिक अभियानमा सक्रिय छन् दोलखाका सुवास लामा। स्वास्थ्य उपचारमा सहुलियत मिलाउनेदेखि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गर्नेसम्मका काममा उनी सक्रिय देखिन्छन्।
लामाको पहलमा काठमाडौंको बानेश्वरस्थित एभरेस्ट अस्पतालमा दोलखाका नागरिकले सहुलियत दरमा स्वास्थ्य सेवा पाउँदै आएका छन्। अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा २५ प्रतिशत र औषधि खरिद गर्दा १० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ। आर्थिक अवस्था निकै कमजोर भएका बिरामीका लागि भने थप सहुलियतमा उपचार गर्ने व्यवस्था पनि मिलाइएको छ।
यो पहलबाट पछिल्लो चार महिनामै दोलखाका १९ जनाले शल्यक्रियासहित उपचार सेवा पाएका छन्। त्यस्तै, ४३ जनाले अस्पतालको बहिरङ्ग अर्थात् ओपीडी सेवाबाट उपचार गराएका छन्। सामान्य उपचारदेखि शल्यक्रियासम्म आर्थिक अभावले समस्या भोगिरहेका नागरिकका लागि यो सहुलियतले केही राहत दिएको छ।
लामाका लागि सामाजिक सेवा भनेको अस्पतालमा उपचारको व्यवस्था मिलाउनु मात्रै होइन। गाउँबस्तीमा पुगेर समस्यामा परेका नागरिकलाई सहयोग गर्ने र विपन्न परिवारका बालबालिकाको पढाइलाई निरन्तरता दिन सघाउने काममा पनि उनी जोडिँदै आएका छन्।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पैसाकै कारण आफ्नो पढाइ रोक्न नपरोस् भन्ने उनको चाहना छ। त्यसैले विद्यालय तहदेखि क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न विद्यार्थीलाई समेत आवश्यकताअनुसार सहयोग गर्दै आएका छन्।
लामा स्वास्थ्य र शिक्षालाई समाज परिवर्तनका महत्त्वपूर्ण आधार मान्छन्। उनको बुझाइमा नागरिक स्वस्थ र शिक्षित भए मात्रै समाज अघि बढ्न सक्छ। त्यसैले पनि यी दुई क्षेत्रमा सहयोग पुर्याउने अभियानलाई उनले प्राथमिकता दिएका छन्।
दोलखाली नागरिकका लागि स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउन सहकार्य गरेको भन्दै उनले एभरेस्ट अस्पतालका निर्देशक दीपक बरालप्रति आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ।
'जनताको सेवा नै धर्म हो। आर्थिक अभावकै कारण कसैले उपचार गर्न नपरोस् र कुनै पनि विद्यार्थी पढ्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने मेरो चाहना हो,' लामा भन्छन्।
राजनीतिक रूपमा नेपाली कांग्रेसमा सक्रिय भए पनि उनी देशमा आफू आबद्ध पार्टीका नेतादेखि अर्को पार्टीका नेतासम्मले गलत काम गर्दा आवाज उठाउँछन् । उनी नेताहरूको कमजोरीलाई बचाउने वा ढाकछोप गर्ने होइन, गलतलाई गलत भन्न सक्ने व्यक्ति हुन् ।
राजनीति पद र प्रतिष्ठाका लागि मात्रै नभई नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने माध्यम पनि बन्नुपर्छ भन्ने उनको धारणा छ। यही सोचलाई व्यवहारमा उतार्दै सुवास लामा स्वास्थ्य, शिक्षा र मानवीय सहयोगका अभियानमा निरन्तर सक्रिय छन्।
1055 Shares