सुकुटे कबर्डहल यसै वर्ष पूरा गर्ने मन्त्री पौडेलको प्रतिबद्धता
निर्माण कार्यलाई तीव्रता दिन निर्देशन।
177
SharesNews Summary
मन्त्री सरल सहयात्री पौडेलले सुकुटे कबर्डहलको स्थलगत निरीक्षण गर्नुभएको छ।
उहाँले कबर्डहलको निर्माण प्रगति र बाँकी कामबारे जानकारी लिनुभएको छ।
मन्त्री पौडेलले चालु आर्थिक वर्षभित्रै कबर्डहल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
सिन्धुपाल्चोक। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१०, सुकुटेमा निर्माणाधीन कबर्डहल यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मन्त्री पौडेलले कबर्डहलको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै निर्माणको वर्तमान अवस्था, प्रगति र बाँकी कामबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। खेलकुदले युवाको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
सुकुटे कबर्डहल स्थानीय खेलाडी, युवा तथा खेलप्रेमी नागरिकको साझा आवश्यकता भएकाले यसको निर्माणमा थप ढिलाइ हुन नदिने मन्त्री पौडेलले बताउनुभयो। प्रदेश सरकारको तर्फबाट आवश्यक बजेट तथा निर्माण प्रक्रिया अघि बढाउँदै चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने गरी काम गरिने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले सम्बन्धित निकायलाई निर्माण कार्यको आवश्यक तयारी, समन्वय र कार्यान्वयन प्रक्रियालाई तीव्रता दिन आग्रह गर्दै गुणस्तरीय निर्माण र निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न गर्न जोड दिनुभयो।
कबर्डहल निर्माण सम्पन्न भएपछि स्थानीय खेलाडीलाई अभ्यास गर्ने, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तथा खेल गतिविधिलाई व्यवस्थित बनाउन सहज हुने अपेक्षा गरिएको छ।
177 Shares