११ माघ २०८२, आइतवार

भर्खरै

सामाजिक सरोकार

मदिराको हानिकारक प्रयोग अधिकार र विकासका लागि गम्भीर चुनौती

मदिरा दुरुपयोग बढ्दै जाँदा घरेलु हिंसा र सामाजिक असुरक्षा बढेको सरोकारवालाको चिन्ता

हेर्दाहेर्दै डेस्क १२ पुष २०८२, शनिवार
मदिराको हानिकारक प्रयोग अधिकार र विकासका लागि गम्भीर चुनौती

News Summary


  • दोलखासहित ग्रामीण तथा शहरी क्षेत्रहरूमा मदिराको हानिकारक प्रयोग बढ्दै जाँदा यसले पारिवारिक जीवन, सामाजिक संरचना र समग्र विकासमा गम्भीर नकारात्मक असर पारेको छ।
  • चरिकोटमा आयोजित अन्तरक्रिया कार्यक्रमले मदिरा दुरुपयोगले घरेलु हिंसा र आर्थिक अस्थिरता बढाएको निष्कर्ष निकाल्दै यसको नियन्त्रणका लागि स्थानीय तह, समुदायको सहभागिता, प्रभावकारी नियमन र सचेतना कार्यक्रम अपरिहार्य रहेकोमा जोड दिएको छ।

दोलखा। पछिल्लो समय दोलखासहित ग्रामीण तथा शहरी क्षेत्रहरूमा मदिराको हानिकारक प्रयोग बढ्दै जाँदा यसले पारिवारिक जीवन, सामाजिक संरचना र समग्र विकास प्रक्रियामा प्रत्यक्ष नकारात्मक असर पार्न थालेको छ। मदिरा दुरुपयोगलाई केवल स्वास्थ्य समस्याको रूपमा होइन, अधिकार र विकाससँग गाँसिएको गम्भीर सामाजिक मुद्दाका रूपमा उठान गर्दै चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

टुकी सिभिन (Tuki CWIN) को सहयोग तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाको समन्वयमा आयोजित कार्यक्रममा मदिरा दुरुपयोगले समाजमा पार्ने बहुआयामिक असरबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रस्तुत तथ्यांक तथा छलफलका आधारमा मदिराको दुरुपयोगका कारण घरेलु हिंसा, आर्थिक अस्थिरता, बालबालिकाको अधिकार हनन र सामाजिक असुरक्षा बढ्दै गएको निष्कर्ष निकालिएको छ। साथै, यसले विकासका लागि विनियोजन हुने स्रोतहरू उपचार, पुनःस्थापना तथा सामाजिक क्षति न्यूनीकरणतर्फ मोडिन बाध्य बनाइरहेको बताइएको छ।

अन्तरक्रियामा मदिरा नियन्त्रणका लागि स्थानीय तहको सक्रिय भूमिका, समुदायको सहभागिता तथा सञ्चारमाध्यमको निरन्तर निगरानी र सचेतनामूलक भूमिकालाई अत्यन्त महत्वपूर्ण मानिएको छ। विद्यालय, परिवार तथा टोलस्तरमै नियमित सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, मदिरा बिक्री–वितरणमा प्रभावकारी नियमन आवश्यक रहेको र विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

सरोकारवालाहरूले मदिराको हानिकारक प्रयोग समयमै नियन्त्रण नगरे सामाजिक समस्या झन् गहिरिँदै जाने र अधिकार तथा विकासका उपलब्धिहरू जोखिममा पर्ने निष्कर्ष निकालेका छन्।

244 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट