एमाले नेतृत्वलाई टीका फुयालको प्रश्नः ‘युवाको आवाज नसुन्ने पार्टीमा कहिलेसम्म बस्ने?’
युवा नेतृत्व स्थापित गर्न विशाल खड्काको साथमा फुयाल नेकपामा
हेर्दाहेर्दै डेस्क
२६ पुष २०८२, शनिवार
261
SharesNews Summary
* नेकपा एमाले तामाकोशी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टीका फुयालले युवाका मुद्दा र ‘जेन्जी आन्दोलन’ लाई उपेक्षा गरेको भन्दै एमाले परित्याग गरे।
* उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे, जहाँ उनले युवा नेता विशाल खड्काको नेतृत्वलाई साथ दिने बताए।
* फुयालले युवाको भावना र ऊर्जाको कदर नभएको आरोप लगाउँदै युवा नेतृत्वमा केन्द्रित राजनीति आवश्यक रहेकोमा जोड दिए।
काठमाडौं । नेकपा एमाले तामाकोशी गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टीका फुयालले पार्टी नेतृत्वले युवाको मुद्दा बेवास्ता गरेको आरोप लगाउँदै एमाले परित्याग गरेका छन्।
शनिबार काठमाडौंको जडीबुटीमा आयोजित कार्यक्रममा फुयाल औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।
लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका फुयालले पार्टीभित्र युवा पुस्ताको भावना, योगदान र ऊर्जाको कदर हुन छोडेको बताए । नेकपा दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले अबको राजनीति युवा नेतृत्व र युवाका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘जेन्जी आन्दोलन’ उपेक्षित भएको आरोप
फुयालले पछिल्लो समय चर्चामा रहेको ‘जेन्जी (Gen Z) आन्दोलन’ लाई एमाले नेतृत्वले गम्भीरतापूर्वक नलिएको आरोप लगाए । उनले युवाहरूको असन्तोष र आक्रोशलाई पार्टीले ठट्टाको रूपमा लिएको भन्दै असन्तुष्टि जनाए ।
“यति ठूलो युवा आन्दोलन भइरहँदा पनि नेतृत्वले बेवास्ता गर्नु निराशाजनक छ,” उनले भने, “युवाको आवाज र अस्तित्व स्वीकार नगर्ने पार्टीमा बसिरहनुको कुनै अर्थ देखिनँ ।”
विशाल खड्काको नेतृत्वलाई समर्थन
नयाँ पार्टी रोज्नुको अर्को कारण युवा नेता विशाल खड्काको नेतृत्वलाई साथ दिनु रहेको फुयालले बताए । युवालाई नेतृत्वमा स्थापित गर्दै समाज परिवर्तनका लागि जुझारु टिम आवश्यक रहेको उल्लेख गर्दै आफू नेकपामा समाहित भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा नेकपाका नेताहरूले फुयालको प्रवेशले दोलखाको संगठन थप सुदृढ हुने र युवा पुस्तामा नयाँ उत्साह थपिने विश्वास व्यक्त गरेका थिए ।
261 Shares
हेर्दाहेर्दै डेस्क