दोलखास्थित पशुपति चौलागाईं स्मृति अस्पतालविरुद्ध जिमेलमार्फत उजुरी, प्रशासनद्वारा छानबिन सुरु
जिमेलबाट उजुरी परेपछि अस्पतालभित्रको विवाद फेरि सतहमा
हेर्दाहेर्दै डेस्क
२६ माघ २०८२, सोमवार
204
SharesNews Summary
- दोलखास्थित पशुपति चौलागाईं स्मृति अस्पताल र यसका मेडिकल सुपरिटेन्डेन्टविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ, जसको छानबिन सुरु भएको छ।
- अस्पतालको नेतृत्व, आर्थिक पारदर्शिता र सेवा प्रवाहमा कमी जस्ता विषयमा यो अस्पताल यसअघि पनि पटकपटक विवादमा पर्दै आएको छ।
दोलखा । दोलखास्थित पशुपति चौलागाईं स्मृति अस्पताल र त्यहाँका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। उजुरी डिजिटल माध्यम ‘जिमेल’ मार्फत प्राप्त भएको हो। जिल्ला प्रशासन कार्यालयले उजुरी दर्ता गरी छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ।
अस्पताल जस्तो संवेदनशील संस्था र त्यसको नेतृत्वलाई लक्षित गरी उजुरी परेपछि स्थानीय स्तरमा चासो र चिन्ता बढेको छ। तर उजुरीमा उल्लेख गरिएका आरोप तथा उजुरीकर्ताको पहिचान भने हाल सार्वजनिक गरिएको छैन।
जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार उजुरी प्राप्त भएपछि प्रारम्भिक अध्ययन अघि बढाइएको छ। अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने भएकाले तत्काल आधिकारिक विवरण सार्वजनिक नगरिने बताइएको छ।
प्रशासनले उजुरीमा उठाइएका विषयवस्तुको संवेदनशीलता मूल्याङ्कन गर्न उजुरीकर्ता र अस्पताल प्रशासन दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ। दुवै पक्षको धारणा र स्पष्टीकरणपछि मात्रै उजुरीको वास्तविक विषयवस्तु सार्वजनिक गरिने प्रशासनको भनाइ छ।
पशुपति चौलागाईं स्मृति अस्पताल यसअघि पनि पटक–पटक विवादमा पर्दै आएको छ। अस्पतालको नेतृत्व र प्रशासनिक कार्यशैली, आर्थिक पारदर्शिताको अभाव तथा सेवा प्रवाहमा देखिने ढिलासुस्तीप्रति समय–समयमा प्रश्न उठ्ने गरेका छन्।
त्यस्तै, राजनीतिक हस्तक्षेप र कर्मचारी व्यवस्थापनको कमजोरीका कारण अस्पतालभित्रका समस्या बेला–बेला बाहिरिने गरेको स्थानीयहरूको गुनासो छ।
हाल जिमेलमार्फत प्राप्त उजुरी पुरानै समस्यासँग सम्बन्धित हो वा कुनै नयाँ तथा गम्भीर विषयसँग जोडिएको हो भन्ने विषय आगामी छलफलपछि मात्रै स्पष्ट हुने प्रशासनले जनाएको छ।
अब जिल्ला प्रशासन कार्यालयले चाल्ने आगामी कदम र समन्वयले अस्पतालसँग जोडिएको विवाद कुन दिशातर्फ जाने हो भन्ने निर्धारण गर्ने देखिएको छ।
204 Shares
हेर्दाहेर्दै डेस्क