३५ वर्षमुनिको समूहबाट महाधिवेशन प्रतिनिधि छनोट हुन नसकेपछि मैनालीले भने– ‘निर्णय स्वीकार गर्छु’
370
Sharesदोलखा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट ३५ वर्षमुनिको समूहमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका आशीष मैनालीले आफू छनोट हुन नसके पनि संगठनको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा पार्टीमा सक्रिय रहने बताएका छन्।
कालिञ्चोक गाउँपालिका–९, सुन्दरावतीबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित मैनालीले ३५ वर्षमुनिको समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए।
महाधिवेशनका क्रममा प्रतिनिधि छनोटका लागि सहमति र सर्वसम्मतिको प्रयास भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको मैनालीले बताएका छन्। आफू योग्य रहेको धारणा पार्टी नेतृत्व तथा कार्यकर्तामाझ राख्दै आए पनि अन्ततः अन्य साथीहरूलाई प्रतिनिधिका रूपमा छनोट गर्ने निर्णय भएको उनले बताए।
संगठनले गरेको निर्णयलाई आफूले लोकतान्त्रिक पार्टीको कार्यकर्ताका रूपमा सम्मानपूर्वक स्वीकार गरेको मैनालीको भनाइ छ।
“म लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने नेपाली कांग्रेसको कार्यकर्ता हुँ। संगठनले गरेको निर्णयलाई आत्मसात् गर्दै अझ सक्षम र सुदृढ भएर आगामी दिनमा पार्टी संगठनमा सक्रिय रहनेछु।”
मैनालीले छनोट भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना दिँदै कांग्रेसलाई थप संगठित, सुदृढ र युवामैत्री बनाउन आगामी दिनमा पनि आफू निरन्तर क्रियाशील रहने बताएका छन्।
उनले उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा पनि पार्टी संगठनमा योगदान गर्ने यात्राको एउटा अवसरका रूपमा लिएको बताए।
“छनोट हुन नसक्नु मेरो राजनीतिक यात्राको अन्त्य होइन। लोकतान्त्रिक प्रक्रियाबाट आएको निर्णयलाई सम्मान गर्दै अझ अध्ययनशील, सक्षम र संगठनप्रति प्रतिबद्ध भएर अगाडि बढ्नेछु,” मैनालीले भनेका छन्।
