११ माघ २०८२, आइतवार

भर्खरै

बाल स्वास्थ्य

दोलखामा नवजात शिशु र बाल रोग व्यवस्थापन कार्यक्रमको समीक्षा, गुणस्तरीय सेवामा जोड

CB-IMNCI कार्यक्रमको प्रभावकारिता बढाउन अनुभव आदान–प्रदान र कार्ययोजना तर्जुमा

हेर्दाहेर्दै डेस्क २५ पुष २०८२, शुक्रवार
दोलखामा नवजात शिशु र बाल रोग व्यवस्थापन कार्यक्रमको समीक्षा, गुणस्तरीय सेवामा जोड

News Summary


  • दोलखा जनस्वास्थ्य कार्यालयले नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) कार्यक्रमको दुई दिने वार्षिक समीक्षा र कार्ययोजना गोष्ठी चरीकोटमा सम्पन्न गर्‍यो।
  • उक्त गोष्ठीमा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरूले बाल स्वास्थ्यको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूबारे छलफल गरे।
  • गोष्ठीले आगामी वर्षका लागि एकीकृत कार्ययोजना तयार गरी नवजात शिशु र बालबालिकाको स्वास्थ्य सेवामा सुधार तथा स्थानीय तहबीच निरन्तर समन्वयमा जोड दिएको छ।

​दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाद्वारा आयोजित 'समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन (CB-IMNCI)' कार्यक्रमको दुई दिने वार्षिक समीक्षा तथा आगामी वर्षको कार्ययोजना तर्जुमा गोष्ठी चरीकोटमा सम्पन्न भएको छ ।

पुस २४ र २५ गते सञ्चालित उक्त कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आ–आफ्नो क्षेत्रको बाल स्वास्थ्यको वर्तमान अवस्था, उपलब्धि र कार्यान्वयनमा देखिएका जटिलताहरू प्रस्तुत गरेका थिए ।​

कार्यक्रमको अध्यक्षता गर्दै जनस्वास्थ्य कार्यालय प्रमुख डिलेन्द्र बुढा मगरले नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको जीवन रक्षाका लागि स्वास्थ्य व्यवस्थापनमा सुधार र सेवाको गुणस्तर सुनिश्चित गर्नु अनिवार्य रहेको बताए । उनले बालबालिकाको स्वास्थ्यमा सुरुवाती चरणमा गरिने लगानी र गुणस्तरीय सेवाले नै भविष्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस कार्यमा सबै स्थानीय तह गम्भीर हुनुपर्नेमा जोड दिए।

समीक्षाका क्रममा सहभागीहरूले जिल्लामा नवजात र साना बालबालिकामा देखिने प्रमुख रोगहरू, आवश्यक औषधि तथा उपकरणको मौज्दात र दक्ष जनशक्तिको अभाव जस्ता विषयमा गहन छलफल गरेका थिए ।​

जिल्ला स्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले समग्र जिल्लाको स्वास्थ्य अवस्था र सूचकहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्रोतको उचित व्यवस्थापन र निकायहरूबीचको तालमेल आवश्यक रहेको औँल्याए ।

यस्तै, मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईंले स्थानीय स्तरमा काम गर्दा भोग्नुपरेका व्यावहारिक चुनौती र समुदायमा स्वास्थ्य शिक्षा पुर्‍याउन चाल्नुपर्ने कदमबारे आफ्ना अनुभवहरू साटासाट गरेका थिए।​

दुई दिनसम्म चलेको सो गोष्ठीले विगतका सफल अभ्यासहरूलाई निरन्तरता दिँदै आगामी वर्षका लागि एकीकृत कार्ययोजना तयार गर्ने र स्थानीय तहहरूबीच निरन्तर समन्वय गर्ने निष्कर्ष निकालेको छ । यसले नवजात र बालबालिकाको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय तहहरूबीच अनुभव आदान–प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

466 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट