विगुलाई पूर्णखोपयुक्त बनाउने महिला स्वयंसेविका सम्मानित: अध्यक्ष भन्छन्– यो उहाँहरूकै मेहनतको फल हो
भौगोलिक विकटता चिर्दै सबै बालबालिकालाई खोपको दायरामा ल्याउन सफल विगु गाउँपालिका; घर-घर पुग्ने महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च कदर ।
हेर्दाहेर्दै डेस्क
१ जेठ २०८३, शुक्रवार
297
SharesNews Summary
- दोलखाको विकट विगु गाउँपालिकालाई पूर्णखोपयुक्त घोषणा गरिएको छ।
- दुर्गम भूगोलमा यो सफलता हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक मेहनत र घरदैलो अभियानको मुख्य भूमिका रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको छ।
दोलखा । दोलखाको भौगोलिक रूपमा विकट मानिने विगु गाउँपालिका पूर्णखोपयुक्त घोषित भएको छ । पालिकाभित्रका सबै बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोप लगाएको सुनिश्चित भएपछि बिहीबार एक विशेष कार्यक्रमका बीच यो घोषणा गरिएको हो ।
दुर्गम भूगोल र छरिएका बस्तीहरूका कारण स्वास्थ्य सेवा पुर्याउन निकै चुनौतीपूर्ण मानिने विगुमा सबै बालबालिकालाई खोपको दायरामा ल्याउन सक्नुलाई स्थानीय स्तरमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।
विगु गाउँपालिकालाई पूर्णखोपयुक्त बनाउन मुख्य भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रममा विशेष सम्मान गरिएको छ । गाउँ–गाउँ र घर–घर पुगेर बालबालिकाहरूको पहिचान गर्ने र उनीहरूलाई खोप केन्द्रसम्म ल्याउन अहोरात्र खटिने स्वयंसेविकाहरूको योगदानको कदर गर्दै पालिकाले प्रशंसा-पत्र प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सन्जिव ओलिले स्वास्थ्य स्वयंसेविकाहरूको अथक मेहनतले गर्दा नै आज पालिकाका कोही पनि बालबालिका खोप पाउनबाट नछुटेको बताए । स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै उनले भने, "आज विगु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जुन ऐतिहासिक सफलता पाएको छ, यो हाम्रा महिला स्वास्थ्य स्वयंसेविकाहरूकै जग र निरन्तरको मेहनतको फल हो ।" उनले यो सफलतालाई आगामी दिनमा अझै परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष देबिका थामीले विगु गाउँपालिका पूर्णखोपयुक्त हुनु सम्पूर्ण पालिकाबासीका लागि गौरव र खुसीको कुरा भएको उल्लेख गरिन। यो सफलतालाई आगामी दिनमा पनि टिकाइराख्न र दिगो बनाउन सबै सरोकारवाला र स्थानीय बासिन्दाको निरन्तर साथ चाहिने उनको भनाइ थियो ।
घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
297 Shares
हेर्दाहेर्दै डेस्क