१ फागुन २०८२, शनिवार

भर्खरै

बिगु गाउँपालिकाले बहुभाषिक शिक्षा वर्ष घोषणा, मातृभाषामै कक्षा १–८ सिकाइ शुरू

मातृभाषामा शिक्षा : बिगुको नयाँ गन्तव्य

स्थानीय पाठ्यक्रम र पुस्तक निर्माणसँगै ‘बहुभाषिक शिक्षा वर्ष–२०८२’ लागू

हेर्दाहेर्दै डेस्क १ फागुन २०८२, शुक्रवार
मातृभाषामा शिक्षा : बिगुको नयाँ गन्तव्य

News Summary


  • बिगु गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८२ लाई 'बहुभाषिक शिक्षा वर्ष' घोषणा गर्दै तामाङ र थामी समुदायका बालबालिकालाई कक्षा १ देखि ८ सम्म मातृभाषामै शिक्षा दिने ऐतिहासिक पहल सुरु गरेको छ।
  • यसका लागि स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखनको काम तीव्र रूपमा भइरहेको छ, जसले ठूलो संख्यामा रहेका जनजाति विद्यार्थीको भाषिक अधिकार सुनिश्चित गर्दै शैक्षिक गुणस्तर उकास्ने विश्वास लिइएको छ।

दोलखा। बिगु गाउँपालिका ले आगामी शैक्षिक सत्र २०८२ लाई ‘बहुभाषिक शिक्षा वर्ष’ घोषणा गर्दै मातृभाषामा सिकाइ प्रवर्द्धन गर्ने ऐतिहासिक पहल अघि सारेको छ। तामाङ र थामी समुदायका बालबालिकालाई कक्षा १ देखि ८ सम्म मातृभाषामै शिक्षादान गर्ने उद्देश्यसहित स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखनको काम तीव्र रूपमा चलिरहेको पालिकाले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा कक्षा १ को पाठ्यपुस्तक लेखन तथा कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी विषयमा विस्तृत प्रस्तुति गरिएको थियो। पालिकाका तथ्यांकअनुसार चालू वर्ष भर्ना भएका ३ हजार १९३ विद्यार्थीमध्ये २ हजार ३३७ जना जनजाति समुदायका छन्। तामाङ र थामी भाषी विद्यार्थीको उल्लेखनीय संख्या भएकाले भाषिक अधिकार सुनिश्चित गर्न बहुभाषिक शिक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट गरिएको छ।

बहुभाषिक शिक्षा प्रालिका अध्यक्ष संगीता पाखरिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले मातृभाषामा शिक्षादान बालबालिकाको बौद्धिक, भावनात्मक तथा सामाजिक विकासको आधारस्तम्भ रहेको बताए।

अध्यक्ष ओलीका अनुसार, “स्थानीय भाषामा सिकाइले बालबालिकामा पहिचान, आत्मविश्वास र सिकाइप्रतिको लगाव बढाउँछ। यसले समावेशी शिक्षाको आधार अझ मजबुत बन्छ।”

कार्यक्रममा उपाध्यक्ष देविका थामी, नेपाल थामी समाज का केन्द्रीय अध्यक्ष रणबहादुर थामीलगायत वक्ताहरूले स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनका लागि बिगु गाउँपालिकाले चालेको कदमलाई ऐतिहासिक तथा दूरदर्शी निर्णयका रूपमा प्रशंसा गरेका थिए। कार्यक्रममा वडा अध्यक्षहरू, विद्यालय प्रमुख, भाषागत शिक्षक तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

यससँगै आगामी शैक्षिक वर्षदेखि बिगुका विद्यालयमा अध्ययनरत बालबालिकाले औपचारिक शिक्षाको प्रारम्भिक चरण नै मातृभाषाबाट सुरु गर्ने अवसर पाउनेछन्। पालिकाले यो पहल समग्र शैक्षिक गुणस्तर उकास्ने महत्वपूर्ण मोडका रूपमा रहने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम माघ २९ गतेदेखि फागुन ३ गतेसम्म चल्नेछ।

286 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट