Herda Herdai logo ३ मंसिर २०८३, बिहिवार

भर्खरै

२५ वर्षपछि खुले जेलभित्रको पीडा, विशालले सम्झिए सहिद हेमन्त।

जेलमा लेखेको उपन्यासको पाण्डुलिपि आँखैअगाडि जलाइयो, २५ वर्षपछि विशाल खड्काले सम्झिए सहिद हेमन्त

ओखलढुंगा जेलमा यातना भोग्दै लेखेको ‘नयाँबस्ती’ उपन्यासको पाण्डुलिपि प्रहरीले जलाएको खड्काको स्मरण।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ मंसिर २०८३, बुधवार
जेलमा लेखेको उपन्यासको पाण्डुलिपि आँखैअगाडि जलाइयो, २५ वर्षपछि विशाल खड्काले सम्झिए सहिद हेमन्त

News Summary


नेकपाका दोलखा इन्चार्ज विशाल खड्काले २५ वर्षपछि ओखलढुंगा जेलमा भोगेको यातनाको घटना सार्वजनिक गरेका छन्।

जेलभित्र लेखेको ‘नयाँबस्ती’ उपन्यासको पाण्डुलिपि प्रहरीले आफ्नै आँखाअगाडि जलाएको उनले स्मरण गरेका छन्।

रगनी घटनामा मारिएका सहिद राजश्वराज रिमाल ‘हेमन्त’सँग जोडिएको पुरानो प्रसङ्ग उनले सार्वजनिक गरेका छन्।

खड्काले सहिद हेमन्तसहित तीनै जना सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

दोलखा । जेलभित्र अनेक यातना सहँदै लेखेको उपन्यासको पाण्डुलिपि आफ्नै आँखाअगाडि जलाइयो। त्यो पनि आफूलाई कुटपिट गरेपछि। ओखलढुंगा जेलमा बिताएको त्यही पीडादायी क्षण नेकपाका दोलखा इन्चार्ज विशाल खड्काले २५ वर्षपछि सम्झिएका छन्।

२०५७ साल मंसिर १ गते दोलखाको रगनीमा मारिएका तीन जना सहिदको स्मृति दिवसका अवसरमा खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो विगतको अनुभव सार्वजनिक गरेका हुन्। उनको स्मरणमा विशेष रूपमा जोडिएको नाम हो, सहिद राजश्वराज रिमाल ‘हेमन्त’।

खड्काका अनुसार उनी त्यतिबेला ओखलढुंगा जेलमा थिए। जेलभित्रै रहँदा उनले ‘नयाँबस्ती’ नामको सानो उपन्यास लेखेका थिए। आहुतीको ‘नयाँघर’ पढेपछि मनमा उब्जिएका भावनालाई उनले उपन्यासमार्फत अभिव्यक्त गरेका थिए।

धेरै मेहनत गरेर तयार पारेको उक्त पाण्डुलिपि जेल कार्यालयका एक सहायकमार्फत पार्टीसम्म पुर्‍याउने व्यवस्था मिलाइएको थियो। त्यसको जिम्मेवारी सहिद हेमन्तले लिएका थिए।

तर २०५७ साल मंसिर १ गते रगनीमा तीन जनाको हत्या भएको भोलिपल्टै खड्काले जेलभित्र अर्को पीडादायी घटना सामना गर्नुपर्‍यो।

मंसिर २ गते साँझ जेल प्रशासनले उनलाई बाहिर बोलायो। त्यहाँ नियमित सुरक्षाकर्मीभन्दा फरक प्रहरी टोली थियो। उनीहरूलाई देख्नेबित्तिकै एक प्रहरीले ‘यही हो’ भन्दै बुटले हिर्काउन थाले। त्यसपछि अन्य प्रहरीले पनि पालैपालो कुटपिट गरेको खड्काले आफ्नो स्मरणमा उल्लेख गरेका छन्।

केही समयपछि प्रहरीले एउटा डायरी देखाउँदै ‘यो कसको हो?’ भनेर सोध्यो। डायरीमा रहेको हस्तलेखन आफ्नै भएको पहिचान गरेपछि खड्काले त्यो आफ्नो भएको बताए।

त्यसपछि प्रहरीले पार्टीसम्म पुर्‍याउन पठाइएको पाण्डुलिपिबारे सोधपुछ गर्‍यो। तर खड्काले त्यसबारे केही बताएनन्। पाण्डुलिपि कसरी जेलबाहिर पठाइएको थियो भन्ने कुरा उनले खुलाउन चाहेनन्।

त्यसक्रममा प्रहरीले एउटा फोटो देखाउँदै ‘चिन्छस्?’ भनेर सोध्यो। फोटोमा सहिद हेमन्त थिए। त्यही बेला मात्रै रगनीमा मारिएका तीन जनामध्ये हेमन्त पनि रहेको उनले थाहा पाए।

हेमन्तकै झोलामा भेटिएका सामग्रीसँगै आफ्नो पाण्डुलिपि पनि प्रहरीले जफत गरेको रहेछ। खड्काका अनुसार त्यतिबेला उनको निधारमा चोट लागेको थियो र रगत बगिरहेको थियो। त्यही अवस्थामा प्रहरीले आफ्नै आँखाअगाडि उनको डायरी जलाइदियो।

जेलभित्र अनेक दुःख र मेहनत गरेर लेखेको उपन्यासको पाण्डुलिपि जलेपछि खड्काले आफ्नो सिर्जना मात्र नभई त्यसलाई पार्टीसम्म पुर्‍याउने जिम्मेवारी लिएका आदरणीय दाजु हेमन्तलाई समेत गुमाएको पीडादायी अनुभूति गरेका छन्।

२०५७ साल मंसिर १ गते रगनीमा राजश्वराज रिमाल ‘हेमन्त’, प्रल्हाद गौतम ‘जीवन’ र डोरहरी गुरागाईं ‘शिशिर’ मारिएका थिए। उनीहरूको २५औँ स्मृति दिवसका अवसरमा खड्काले तीनै जना सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

720 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट