कर्यापझ्यापको सूचना पाएपछि पूर्वमुख्यसचिव अर्याल दिल्ली सुइँकुच्चा
291
Shares
पूर्वमुख्यसचिव एकनारायण अर्याल प्रहरीबाट पक्राउ पर्न सक्ने सूचना पाएपछि बुधबार बिहानै दिल्ली गएको खुलेको छ।
मलेसिया जाने नेपाली श्रमिकलाई मेडिकल व्यवसायीसँगको मिलेमतोमा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई पनि पक्राउ गर्ने तयारी गरेको थियो। यसका लागि सीआईबीले बुधबार दिउँसो अदालतबाट पक्राउ अनुमति लिने प्रक्रिया अघि बढाउँदै थियो। तर, पक्राउ गर्ने तयारीबारे सूचना पाएलगत्तै अर्याल दिल्ली उडेको बताइएको छ।
यस प्रकरणमा दुई पूर्वश्रममन्त्री, एक सचिव, दुई सहसचिव र एक उपसचिव गरी सात जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्वश्रमसचिव विनोद केसी रहेका छन्।
त्यस्तै, मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि पहिलो पटक चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
291 Shares