महिलालाई मन्दिर प्रवेश निषेध, यस्तो छ महाङ्काल भगवतीको किंवदन्ती
सात सय वर्ष पुरानो मानिने महाङ्काल भगवती मन्दिरको छुट्टै धार्मिक परम्परा र रोचक किंवदन्ती
135
SharesNews Summary
दोलखाको भीमेश्वर नगरपालिका-५ मा रहेको महाङ्काल भगवती मन्दिर स्थानीय मान्यताअनुसार सात सय वर्षभन्दा पुरानो मानिन्छ।
किंवदन्तीअनुसार शिलामा कोदालो लाग्दा रगत बगेपछि देवीको उत्पत्ति र पूजाआराधना सुरु भएको विश्वास छ।
पुरानो धार्मिक मान्यताका कारण महिलालाई मन्दिरभित्र प्रवेश निषेध छ। महिलाहरूले बाहिरबाटै दर्शन तथा पूजाआजा गर्छन्।
कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी र महाङ्काल भगवतीलाई दिदीबहिनी मान्ने जनविश्वाससँगै यहाँ मौलिक बलिपूजा र विभिन्न धार्मिक पर्वमा विशेष पूजा हुने परम्परा छ।
दोलखा । शिलामा कोदालो लाग्दा रगत बगेको किंवदन्तीसँग जोडिएको दोलखाको महाङ्काल भगवती मन्दिर धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल हो। भीमेश्वर नगरपालिका-५ मा रहेको यो मन्दिर स्थानीय ज्येष्ठ नागरिकका अनुसार सात सय वर्षभन्दा पुरानो मानिन्छ।
परापूर्वकालमा अहिले मन्दिर रहेको स्थानमा जङ्गल थियो। त्यतिबेला स्थानीयले त्यहाँ गाईको दूध चढाउने गर्थे। एक दिन कोदालोले खन्दा एउटा शिलामा चोट लाग्यो र त्यहाँबाट रगत बगेको किंवदन्ती छ। त्यसपछि कोदालो चलाउने व्यक्ति बिरामी परे।
किंवदन्तीअनुसार सपनामा महाङ्काल देवीले दर्शन दिएर क्षमापूजा गरे बिरामी निको हुने सन्देश दिइन्। त्यसपछि चोट लागेको शिलामा नियमित पूजाआजा गर्न थालिएको स्थानीयको भनाइ छ।
महाङ्काल भगवती मन्दिरको अर्को विशेषता यहाँको धार्मिक परम्परा हो। पुरानो मान्यताअनुसार महिलालाई मन्दिरभित्र प्रवेश गर्न दिइँदैन। महिलाहरूले मन्दिर परिसरबाहिरबाटै देवीको दर्शन तथा पूजाआजा गर्ने गर्छन्।
स्थानीय धार्मिक किंवदन्तीअनुसार कालिञ्चोक भगवती जेठी, त्रिपुरा सुन्दरी माहिली र महाङ्काल भगवती कान्छी बहिनी हुन्। कालिञ्चोक भगवतीको दर्शनपछि महाङ्काल भगवतीको दर्शन गर्नुपर्ने जनविश्वाससमेत रहेको छ।
मन्दिरको माथिल्लो भागमा एउटा सानो कुण्ड छ। उक्त कुण्डमा सधैँ पानी रहने स्थानीय बताउँछन्। कुण्डबाट आउने पानी, त्यहाँ बाघ देखिने र अनौठा आवाज सुनिने गरेको जनविश्वास पनि छ।
यहाँ मंगलबार र शनिबार विशेष पूजाआराधना हुन्छ। महाङ्काल भगवतीलाई पाठी र रक्तकालीलाई परेवा बलिका रूपमा चढाउने परम्परा छ। बलिपूजापछि पाठी तथा परेवाको मासु घर नलगी मन्दिर परिसरमै खाने चलन छ। दसैँमा विशेष पूजा हुने यस मन्दिरमा तीज, धान्यपूर्णिमा, बालाचतुर्दशी र शिवरात्रिलगायतका पर्वमा पनि भक्तजन पुग्ने गर्छन्।
मन्दिरको उत्पत्तिबारे यकिन ऐतिहासिक अभिलेख छैन। तर यहाँ रहेको सबैभन्दा पुरानो घण्टा विसं १९१० मा चढाइएको मानिन्छ। सुरुमा रामकोटका न्यौपानेहरूले पूजाआजा गर्ने गरेको र पछि मन्दिरको पूजाआजा गिरी परिवारबाट हुँदै आएको बताइन्छ।
मन्दिरको अहिलेको संरचना निर्माण र संरक्षणमा विभिन्न व्यक्तिको योगदान छ। विसं २०४४ सालतिर चरिकोटका व्यवसायी हरिबहादुर थापाले मुख्य मन्दिरको भौतिक संरचना निर्माण गराएका थिए। बिसुन्टोल निवासी समाजसेवी रामबहादुर बस्नेतले शिवमन्दिर निर्माण गरेका थिए।
मन्दिरको संरक्षणका लागि विसं २०५५ सालमा चरिकोट निवासी सत्यनारायण श्रेष्ठको अगुवाइमा संरक्षण समिति गठन गरिएको थियो। २०७२ सालको भूकम्पपछि मन्दिरका दुईवटा भवनको मर्मत पुरातत्त्व विभागले गरेको थियो।
समुद्री सतहबाट करिब एक हजार ६ सय मिटर उचाइमा रहेको महाङ्काल भगवती मन्दिर काठमाडौंँबाट करिब १४२ किलोमिटरको दूरीमा छ। चरिकोट बजारबाट करिब सात किलोमिटर कच्ची सडक हुँदै मन्दिर पुग्न सकिन्छ। नियमित बस सेवा र निजी सवारीसाधनबाट पनि मन्दिरसम्म जान सकिने व्यवस्था छ।
पुरानो धार्मिक मान्यता, किंवदन्ती र मौलिक पूजापरम्परा बोकेको महाङ्काल भगवती मन्दिर दोलखाको महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित छ।
