Herda Herdai logo ७ मंसिर २०८३, सोमवार

भर्खरै

ठोट्नेरीमा कुखुरा फार्ममा आगलागी, ७० लाखसम्मको क्षति

आगलागीबाट ७० लाखसम्मको क्षति, किसानलाई सहयोग गर्न वाईसीएलको अभियान

१ हजार ७ सय कुखुरासहित फार्मका संरचना र सामग्री नष्ट भएपछि पीडित किसानलाई सहयोग गर्न वाईसीएलको अभियान।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ७ मंसिर २०८३, सोमवार
आगलागीबाट ७० लाखसम्मको क्षति, किसानलाई सहयोग गर्न वाईसीएलको अभियान

Photo : Subash Basnet

News Summary


दोलखाको वैतेश्वर-७ ठोट्नेरीमा विद्युत् लाइन सर्ट भएर कुखुरा फार्ममा आगलागी भएको छ।

आगलागीबाट बिक्रीका लागि तयार र हुर्कँदै गरेका गरी १ हजार ७ सय कुखुरा जलेर नष्ट भएका छन्।

फार्मका चारवटा भौतिक संरचना, ५० बोरा दाना, जेनेरेटरलगायतका सामग्री पनि जलेर नष्ट भएका छन्।

फार्म सञ्चालक विदुरप्रसाद गुरागाईँका अनुसार आगलागीबाट करिब ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

वाईसीएल नेपालका केन्द्रीय सचिव मिनकुमार शिवाकोटीसहितको टोलीले घटनास्थल अवलोकन गरेपछि पीडित किसानलाई पुनःस्थापित गर्न सहयोग तथा पुनर्निर्माण अभियान अघि बढाएको छ।

दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–७ ठोट्नेरीमा आगलागीबाट कुखुरा फार्ममा ठूलो क्षति भएपछि पीडित किसानलाई सहयोग गर्न वाईसीएल नेपालले अभियान सञ्चालन गर्ने भएको छ।

आइतबार मध्याह्न करिब १२ बजे विद्युत् लाइन सर्ट भएर स्थानीय विदुरप्रसाद गुरागाईँले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएको थियो। आगलागीबाट १ हजार ७ सय कुखुरासहित करिब ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको फार्म सञ्चालक गुरागाईँले जानकारी दिए।

आगलागीमा बिक्रीका लागि तयार रहेका १ हजार १ सय र हुर्कँदै गरेका ६ सय कुखुरा जलेर नष्ट भएका छन्। त्यस्तै, फार्मका चारवटा भौतिक संरचना, ५० बोरा दाना, जेनेरेटरलगायत अन्य सामग्री पनि जलेर नष्ट भएका छन्।

स्थानीयवासी र इलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरी टोलीको सक्रियतामा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। बैंक तथा सहकारीबाट ऋण लिएर फार्म सञ्चालन गर्दै आएका गुरागाईँ आगलागीपछि आर्थिक संकटमा परेका छन्।

आगलागीको घटनालगत्तै सोमबार वाईसीएल नेपालका केन्द्रीय सचिव मिनकुमार शिवाकोटीसहितको टोली घटनास्थल पुगेको थियो। टोलीले आगलागीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै घटनास्थलको अवलोकन गरेको थियो।

पीडित किसानलाई राहत उपलब्ध गराउनुका साथै पुनःव्यवसाय सञ्चालन गर्न सहयोग गर्ने उद्देश्यले वाईसीएल नेपालले सहयोग तथा पुनर्निर्माण अभियान अघि बढाएको जनाएको छ।

वाईसीएलका अनुसार आगामी मंसिर १२ र १३ गते सहयोग तथा पुनर्निर्माण अभियान सञ्चालन गरिनेछ। अभियानमा देश तथा विदेशमा रहेका सदस्य, शुभचिन्तक र सहयोगीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरिएको छ।

फार्म पुनर्निर्माण गरी किसानलाई पुनःव्यवसायमा फर्काउने उद्देश्यले सहयोग अभियान सञ्चालन गर्न लागिएको वाईसीएल नेपालका केन्द्रीय सचिव मिनकुमार शिवाकोटीले बताए।

109 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट