मेलुङ गाउँपालिकाबाटै प्यान दर्ता र नवीकरण सेवा पाइने
प्यान दर्ता र नवीकरणका लागि धुलिखेल धाउनुपर्ने बाध्यता हट्ने
70
SharesNews Summary
मेलुङ गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच करदाता सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ।
सम्झौतापछि मेलुङ गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा नवीकरण सेवा उपलब्ध हुने भएको छ।
सेवाग्राहीले गाउँपालिकाबाटै करसम्बन्धी आवश्यक जानकारी र परामर्शसमेत प्राप्त गर्न सक्नेछन्।
आवश्यक प्रक्रिया पूरा भएपछि गाउँपालिकाको कार्यालयबाट औपचारिक रूपमा करदाता सेवा सुरु गरिनेछ।
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका नागरिकले अब गाउँपालिकाबाटै स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा नवीकरणलगायत करदाता सेवा पाउने भएका छन्।
स्थानीय स्तरमै करदाता सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले बिहीबार मेलुङ गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच द्विपक्षीय सम्झौता भएको हो।
सम्झौताअनुसार गाउँपालिकाका नागरिक, व्यवसायी तथा सेवाग्राहीले प्यान दर्ता तथा नवीकरण, करसम्बन्धी आवश्यक जानकारी र परामर्शलगायत आधारभूत करदाता सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सक्नेछन्।
यस व्यवस्थाले सामान्य करसम्बन्धी सेवा लिन धुलिखेलस्थित कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अनुसार सेवा सञ्चालनका लागि आवश्यक बाँकी प्रक्रिया पूरा गरेपछि केही समयमै गाउँपालिकाको कार्यालयबाट औपचारिक रूपमा सेवा सुरु गरिनेछ।
70 Shares