भीमेश्वर–७ का ज्येष्ठ नागरिकलाई दुई सय सिरक र दुई सय पानी फिल्टर सहयोग
अस्ट्रियाका नागरिकको सहयोगमा भीमेश्वर–७ मा दुई सय सिरक र दुई सय पानी फिल्टर वितरण।
212
SharesNews Summary
भीमेश्वर नगरपालिका–७ का ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दुई सय थान सिरक र दुई सय थान पानी फिल्टर सहयोग गरिएको छ।
अस्ट्रियाका नागरिकहरूको सहयोगमा सोमबार उक्त सामग्री वितरण गरिएको हो।
चिसोबाट जोगाउन र स्वच्छ खानेपानीको पहुँच बढाउन सामग्री सहयोग गरिएको वडा कार्यालयले जनाएको छ।
सहयोग गर्ने अस्ट्रियाका तीन नागरिक र दुई नेपालीलाई वडा कार्यालयले प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ।
दोलखा । भीमेश्वर नगरपालिका–७ का ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई अस्ट्रियाका नागरिकहरूले दुई सय थान न्यानो सिरक र दुई सय थान पानी शुद्धीकरण गर्ने फिल्टर सहयोग गरेका छन्।
वडा कार्यालयको प्रस्तावअनुसार ज्येष्ठ नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै उक्त सामग्री वितरण गरिएको हो। चिसो मौसममा ज्येष्ठ नागरिकलाई न्यानो राख्न र स्वच्छ खानेपानीको पहुँच बढाउने उद्देश्यले सोमबार सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष विनोद तामाङले ज्येष्ठ नागरिकको आवश्यकता पहिचान गरी अघि सारिएको प्रस्ताव स्वीकार गरेर सहयोग गर्ने अस्ट्रियाका नागरिक तथा नेपाली सहयोगीहरूप्रति आभार व्यक्त गरे। उनले सामाजिक विकास भौतिक संरचना निर्माणमा मात्र सीमित नभई ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र आधारभूत आवश्यकता पूरा गर्नु पनि भएको बताए।
उक्त मानवीय कार्यमा अस्ट्रियाका नागरिक Eduard, Rosalia र Helga तथा नेपाली नागरिक लाक्पा दोर्जी शेर्पा र चण्डिका श्रेष्ठले सहयोग गरेका छन्। उनीहरूको सहयोगबाट ज्येष्ठ नागरिकका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्भव भएको हो।
सहयोगको उच्च मूल्याङ्कन गर्दै वडा कार्यालयले सहयोगी सबैलाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरेको छ।
212 Shares