१६ असार २०८३, मङ्गलवार

भर्खरै

१५ किलोमिटरको घुमाउरो यात्रा अन्त्य हुँदै

५ करोडको लागतमा पिखुती–झ्याकु खोलामा मोटरेबल पुल बन्ने, प्रदेश सरकारद्वारा बोलपत्र आह्वान

गाउँपालिकाको डीपीआर र प्रदेश सरकारको लगानी

हेर्दाहेर्दै डेस्क १५ चैत २०८२, आइतवार
५ करोडको लागतमा पिखुती–झ्याकु खोलामा मोटरेबल पुल बन्ने, प्रदेश सरकारद्वारा बोलपत्र आह्वान

News Summary


  • दोलखाको गौरीशंकर गाउँपालिकाको पिखुती–झ्याकु खोलामा मोटरेबल पुल निर्माणका लागि बागमती प्रदेश सरकारले ठेक्का आह्वान गरेको छ।
  • करिब ५ करोड लागतमा बन्ने २५ मिटर लामो यो पुलले स्थानीयको १५ किलोमिटरको घुमाउरो यात्रा अन्त्य गरी वर्षैभरि सहज आवतजावतको सुविधा दिनेछ।

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने पिखुती–झ्याकु खोलामा मोटरेबल पुल निर्माणका लागि बागमती प्रदेश सरकारले ठेक्का प्रक्रिया सुरु गरेको छ। गाउँपालिकाको विशेष पहल र डीपीआर (DPR) तयारीपछि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयले पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो।

​करिब २५ मिटर लम्बाइ रहने उक्त पुल झण्डै ५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। गाउँपालिकाले आफ्नै स्रोतबाट डीपीआर तयार गरी योजना अघि बढाउन प्रदेश सरकारसँग समन्वय गरेको थियो।

१५ किलोमिटरको घुमाउरो यात्रा अन्त्य हुने

पुल बनेपछि झ्याकु मानेडाडा हुँदै गौरीशंकर गाउँपालिकाका वडा नं. ३ र ४ का बासिन्दालाई वर्षैभरि सहज आवतजावतको सुविधा मिल्नेछ। हाल बन्चरेबाट जम्मा ३–४ किलोमिटरको दूरीमा रहेको ठाउँमा पुग्न पुल नभएकै कारण करिब १५ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। विशेषगरी बर्खायाममा खोला बढेर सवारी साधन चल्न नसक्दा स्थानीयले निकै सास्ती भोग्दै आएका छन्।

अध्यक्षको पहल र प्राथमिकता

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले पदभार सम्हालेकै समयमा यो पुल निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए। सोही अनुसार गाउँपालिकाले प्राविधिक तयारी पूरा गरी प्रदेश सरकारलाई योजना बुझाएको थियो।

​अध्यक्ष कार्कीले भने, “यो पुल हाम्रो गाउँपालिकाका लागि निकै महत्त्वपूर्ण योजना हो। स्थानीयले वर्षौंदेखि भोग्दै आएको सास्ती हटाउन हामीले डीपीआर बनाएर प्रदेश सरकारसँग निरन्तर पहल गर्‍यौं। अहिले भौतिक पूर्वाधार कार्यालयले ठेक्काको सूचना निकालेको छ, अब छिट्टै निर्माण कार्य अघि बढ्नेछ।”

​पुल निर्माण सम्पन्न भएपछि जिरी नगरपालिकासम्मको यात्रा वर्षैभरि सहज हुने र यसले स्थानीय आर्थिक गतिविधि तथा विकासलाई समेत गति दिने विश्वास गरिएको छ।

 

1073 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट