चरिकोटमा शंखधर साख्वाःको सालिक बनाउने समितिलाई १ लाख ११ हजार पुरस्कार
सालिक स्थापनाको योगदानको कदर गर्दै समितिलाई नगद पुरस्कारसहित सम्मान।
151
SharesNews Summary
चरिकोटमा शंखधर साख्वाःको सालिक स्थापना गर्ने समितिलाई सम्मान गरिएको छ।
समितिले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
भालुखोला चोकलाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने गुरुयोजना अघि सारिएको छ।
दोलखा । दोलखाको चरिकोटमा राष्ट्रिय विभूति शंखधर साख्वाःको सालिक स्थापना गर्ने निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको छ। उपत्यकाबाहिर पहिलोपटक शंखधरको सालिक स्थापना गरेको योगदानको कदर गर्दै समितिलाई सम्मानपत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित समारोहमा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र मानन्धरले सम्मानपत्र र पुरस्कार ग्रहण गरेका हुन्।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सालिक अनावरण गरेका थिए। सालिक स्थापना गर्दा चरिकोटको फोहोर र अव्यवस्थित चोकलाई पर्यटकीय तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्य राखिएको अध्यक्ष मानन्धरले बताएका छन्।
उनका अनुसार भालुखोलाका नामले चिनिने उक्त स्थानलाई शंखधर चोकका रूपमा स्थापित गर्ने र व्यवस्थित पर्यटकीय क्षेत्र बनाउने लक्ष्यसहित सालिक स्थापना गरिएको थियो। त्यसका लागि त्यतिबेलै गुरुयोजनासमेत अघि सारिएको थियो।
गुरुयोजनाअनुसार काम अघि बढाउने र प्राप्त बजेटको प्रभावकारी परिचालन गर्न सके चोकको स्वरूप परिवर्तन गर्न सकिने मानन्धरको विश्वास छ।
अहिले नेपाल तथा विदेशका ३० भन्दा बढी स्थानमा शंखधर साख्वाःका सालिक स्थापना भइसकेको बताइएको छ। चरिकोटमा सालिक स्थापना भएपछि उक्त स्थानले छुट्टै ऐतिहासिक तथा सांस्कृतिक पहिचान बनाएको छ।
सम्मान प्राप्त गरेपछि अध्यक्ष मानन्धरले सम्मानका लागि छनोट समिति, नेपाल सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका वर्तमान तथा पूर्वपदाधिकारी, चरिकोट गुठी, निर्माण उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा सामाजिक अभियन्ताहरूप्रति आभार व्यक्त गरेका छन्।
151 Shares