दोलखाको कालिन्चोक गाउँपालिका पूर्णखोपयुक्त पालिका घोषित, स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
अध्यक्ष अर्जुन शिवाकोटी र उपाध्यक्ष कुल बहादुर बुढाथोकीद्वारा प्रतिवद्धता व्यक्त, अभियानमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित।
हेर्दाहेर्दै डेस्क
१ जेठ २०८३, शुक्रवार
348
SharesNews Summary
- दोलखाको कालिन्चोक गाउँपालिकालाई पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ।
- पालिकाभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि यो घोषणा भएको हो।
- यो उपलब्धिमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई सम्मान गर्दै पालिकाले स्वास्थ्य सेवाको जगलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि बिहीवार एक भव्य कार्यक्रमका बीच यो घोषणा गरिएको हो ।
स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै कालिन्चोकले यसलाई पालिकाको ठूलो सफलता मानेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले पालिकालाई पूर्णखोपयुक्त बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा र विशेषगरी महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई धन्यवाद दिए । उनले स्वास्थ्य क्षेत्रको यो जगलाई अझै बलियो बनाउँदै आगामी दिनमा स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीले कालिन्चोक पूर्णखोपयुक्त हुनु सम्पूर्ण पालिकाबासीका लागि सुखद र गौरवको कुरा भएको बताए । उनले यो अवस्थालाई आगामी दिनमा पनि निरन्तरता दिन र दिगो राख्न सबै सरोकारवालाहरू उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
घोषणा कार्यक्रमको अवसरमा गाउँ-गाउँ र टोल-टोलमा पुगेर खोप अभियान सफल बनाउन अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशंसा-पत्रसहित विशेष सम्मान गरिएको थियो ।
348 Shares
हेर्दाहेर्दै डेस्क